सडक पिच गर्न माग राख्दै विराटनगर ११ को वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर ११ नम्बर वडा कार्यालय अगाडीको सडक पिच गराउनुपर्ने माग राख्दै यहाँका स्थानीयले आन्दोलन सुरू गरेका छन् । उनीहरुले आज विहानदेखि सडक बन्द गरेर आन्दोलन सुरू गरेका हुन् ।

विराटनगर ११ नम्बर वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म ठेक्का लागेर म्याद सकिएको पाँच महिना भन्दा बढी हुँदा पनि सडक कालोपत्रे भएको छ्रैन । सुसान श्रेष्ठ संचालक रहेको ठेकेदार कम्पनी श्री विराट कालिका कन्ट्रक्सनले विराटनगर महानगरपालिकासँग २०८० मंसिर २० गते ठेक्का स्वीकृत गरेको थियो । ठेक्का स्वीकृत गरेको पाँच महिना भित्रमा निमार्ण पूरा गर्ने सम्झौता गरेर ३२ लाख ११ हजार १६८ रुपैयाँमा ठेक्का लिएको थियो । सो कम्पनीले कार्य देश पाएको मितिबाट २०८१ साल साउन १५ गतेभित्रमा पिच निमार्ण गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले सम्झौता अवधि सकिएको चार महिना बितिसक्दा पनि निर्माण भएको छैन ।

वडा कार्यालयले उक्त निर्माण कम्पनीलाई २०८१ असार २० गते चार महिनाको भाका राखेर कार्तिक मसान्तसम्मको लागि पहिलो पटक म्याद थप गरियो । पहिलो पटक म्याद थप गरेको समयसीमा सकिदा पनि निमार्ण कार्य पूरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । उनीहरुले सडक अबरुद्ध गरेर वडा कार्यालय समेत घेराउ गरेका छन् । विराटनगर ११ का स्थानीय नारयण साहले पटक पटक जनप्रतिनधी र निमार्ण कम्पनीलाई भन्दा पनि कुनै सुनवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताए । ‘वडा कार्यालय अगाडीको सडक नबनेर हामी हैरानी भइसक्यो । धुलो उठेर बस्न सक्ने अवस्था छैन । यो सडकले गर्दा धेरै मानिस विरामी भइसके,’ उनले भने, ‘वर्षौ भइसक्यो अहिलेसम्म पिच सडक नबनेपछि आन्दोलनमा उत्रिन बाध्य भएको हौं ।’
त्यसैगरी विराटनगर ११ वडा कार्यालयछेउमा किराना पसल गर्दै आएकी मैया खड्काले सडक पिच नबनेर धुलो उडेको कारणले पसल गर्न नसक्ने अवस्थामा पुगेको बताइन् । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ उनले भने, ‘माक्स नलगाइ पसलमा बस्न सक्ने अवस्था छैन,’ उनले भनिन् ।

आइतबार, १६ मंसिर, २०८१, दिउँसोको ०१:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर