विरटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा करोडौं मूल्यका महत्वपूर्ण उपकरणहरु ‘ड्यामेज’ भएको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेशकास्वास्थ्यमन्त्री भुपेन्द्र राईले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै विभिन्न ९ वटा अस्पतालमा १२० वटा त्यस्ता उपकरण ड्यामेज भएको जानकारी दिएका हुन् । उपर्युक्त जनशक्ति नहुँदै बजेटमा उपकरण खरिदमा बजेट विनियोजन गर्ने र सामान खरिद गर्दा कतिपय नयाँ मेसिनहरु पनि नचल्ने अवस्थामा रहेको उनले बताए ।
‘मन्त्रालय रमातहतका कार्यालयहरूमा अरबौंको सम्पत्ती ड्यामेज भएर राखिएको अवस्थामा भेटियो । यो अत्यन्तै गम्भीर कुरा हो । स्वास्थ्य क्षेत्रलाई हामीले व्यवस्थित गर्न नसकेको उदाहरण हो । यस्ता उपकरणलाई सकभर मर्मत गरेर संचालन हुने रहेछ भने हामी मर्मत सम्भार गर्ने पहल गर्छौं । अब यस्तै खालका उपकरण खरिद पनि अति आवश्यक बाहेक खरिद गर्दैनौं,’ मन्त्री राईले भने, ‘ड्यामेज हुने उपकरण नयाँ पनि रहेको । तर, जनशक्तिको अभावको कारण नचलिरहेको अवस्था छ । त्यस्ता उपकरणलाई पनि हामीले चल्ने अस्पतालमा तानेर चलाउँछौं । अहिले नचलाइ राखेका उपकरण नै फेरि खरिद गरिँदैन ।’
मन्त्रालयले बजेट विनियोजन गर्दा जनशक्तिलाई ध्यानमा राखेर उपकरण खरिद नगरेको उनले बताए । ‘यो बजेट विनियोजन गर्दा जनशक्तिलाई ख्याल गरेर मात्रै बजेट छुट्याएको भए हुन्थ्यो । म बजेट विनियोजन गर्ने बेलामा मन्त्री थिइन । तर, अहिलेको बजेटमा छुट्याएको बजेटबाट उपकरण खरिद गर्न रोकेको अवस्था छ । राज्यलाई अनावश्यक भार थप्नु हुँदैन । जनशक्ति छैन भने सामान मात्रै खरिद गरेर राज्यलाई लोड थप्नु हुँदैन । त्यस्ता उपकरण अब खरिद हुँदैन बरु बजेट काटिँदै जान्छ,’ उनले भने ।
यस्तै मन्त्रालयको औषधि खरिदमा पनि समस्या देखिएको उनले बताए । ‘हामीले बजेट असार १ गते ल्याउँछौं । तर, आर्थिक वर्षको अन्त्य वैशाख, जेठ र असारमा औषधि खरिद गरेको देखियो । समयमै औषधि नपुगेर नागरिकहरु लाभान्वित नभएको भन्ने गुनासो आइरहेको थियो । त्यसको कारण यही रहेछ,’ राईले भने, ‘ अब तत्कालै ठेक्का सुरु गरेर समयमै औषधि खरिद गर्नतिर मेरो ध्यान जान्छ । औषधि खरिद गर्ने प्रक्रिया वा जुनसुकै काममा ढिलाइ गर्नुपर्ने कुनै पनि कारण छैन । बजेट आइसकेपछि दुई महिना, तीन महिनाभित्र सबै प्रक्रिया टुंग्याउन सक्ने व्यवस्था छ । अब औषधि खरिदको प्रक्रिया चाँडो टुंग्याउन म पहल गर्छु । चाँडै औषधि खरिद प्रक्रिया अगाडि बढ्छ ।’
मन्त्रालय स्रोतले भने आर्थिक वर्षको अन्त्यमा ६ महिनामा म्याद गुज्रेका औषधि खरिद गर्दा ७० प्रतिशतभन्दा बढी कमिसन कर्मचारीलाई आउने गरेको कारण ढिलाइ गर्ने गरेको दाबी गर्यो । मन्त्रालयमा ८० प्रतिशत कर्मचारी अभाव भएको पनि उनले बताए । ‘मन्त्रालयमा यति धेरै कर्मचारी अभाव हुँदा काम प्रभावकारी हुन नसकेको रहेछ,’ उनले भने । मन्त्रालयले दिएको विवरण अनुसार मन्त्रालय र मातहतका निकायमा अहिले पनि१ सय २४ जना कर्मचारीको अभाव छ । अभाव भएका कर्मचारीको पदपूर्तिका लागि प्रदेशका मुख्यमन्त्री र लोकसेवा आयोगसँग छलफल गरेर तत्कालै प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘वास्तवमा स्वास्थ्य मन्त्रालय मातहतमा रहेको जनशक्तिमा ८० प्रतिशत अभाव देखियो । करामा नियुक्ति गरेर केही पदहरुमा पदपूर्ति गरिएको छ । तर, प्राविधिक जनशक्तिको अभाव अत्याधिक देखियो । यि पदहरूमा जनशक्ति आपूर्ति नभएसम्म सेवा प्रभावकारी हुन सक्दैन । यो हप्ताभित्रै बैठक बसेर पदपूर्तिकोव्यवस्था मिलाउँछौं,’ राईले भने ।
उनले मन्त्रालयमा रहेको बेरुजूको विवरण पनि सार्वजनिक गरेका छन् । जसअनुसार असुल गर्नुपर्ने बेरुजू ३ करोड ५ लाख १ हजार ३२८ रुपैयाँ, नियमित गर्ने बेरुजू ३७ करोड ६२ लाख ७८ हजार ३ रुपैयाँ, पेश्की बेरुजू ७१ लाख ३३ हजार ६७४ रुपैयाँ गरी जम्मा बेरुजू ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ रहेको छ ।