तस्करीको कपडा राख्न घर भाडामा, छापा हानेर विराटनगरबाट लाखौको कपडा बरामद

विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।
उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने गरेको पाइएको हो ।

विराटनगर – २ स्थित बद्री ढकालको भुइ तलाको घरको दुई वटा कोठा तस्कर समूहले भाडामा लिएर कपडा राख्ने र त्यसपछि पूर्वी सहरमा पठाउने उद्देश्यले भण्डारन गरेको ठूलो परिमाणमा कपडा प्रहरीले बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले बरामद गरेको कपडाको मुल्यांकन १० लाख भन्दा बढीको रहेको बुझिएको छ । प्रहरीले भने बरामद गरेको कपडाको मुल्याकंन भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘बरामद गरेको कपडा सानो ठूलो गरि १३ पोका रहेको छ । अहिले परिमाण र लागत मुल्यांकन गर्ने काम भइरहेको छ,’ उनले भने,’ परिमाण र लागत मुल्य खुलाएर सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारि गरिएको छ ।’

प्रहरीले बरामद गरेको कपडा विराटनगर १५ घर भएका आन्नद कुमार साहको रहेको डिएसपी जोशीले बताए । कपडा तस्करी गर्ने साह भने फरार भएका छन् । उनको खोजी कार्य प्रहरीले तिव्र बनाएको छ । ‘एउटा कोठा भाडा बापत ५ हजार रुपैयाँ मासिक रुपैयाँ दिने भनेर कोठा लिएको रहेछन् ,’ उनले भने । साहले क्यारिङमार्फत भारतको जोगवनीबाट भरिया प्रयोग गरी तस्करीको कपडा भाडामा लिएको घरको कोठामा राख्ने गरेको पाइएको छ । तस्करी गरेर ल्याएको कपडा अन्य विभिन्न सप्लायर्सको नाममा साहले बिल बनाउने र त्यसपछि पूर्वको विभिन्न सहरमा रहेको व्यापारीको पसलमा पुर्याउने गरेका छन् । व्यापारीले साहलाई कपडा गन्तब्यसम्म ल्याएपछि निश्चित रकम दिने गर्दछन् । ‘व्यापारीले जोगवनीमा गएर कपडा खरिद गरेपछि सो कपडा पसलसम्म ल्याउने जिम्मा जोगवनीका कपडा व्यापारीले तस्करी धन्दा चलाउने क्यारिङ गर्नेलाई दिनेछन् । क्यारिङ गर्नेले उक्त कपडा भरिया प्रयोग गरि विराटनगरसम्म पुर्याउने र त्यसपछि बिलबिजक बनाएर पसलसम्म पुर्याउने गरेका छन्,’ यस क्षेत्रका जानकार स्रोतले भन्यो , ‘यसरी व्यापारीको पसलसम्म पुर्याउदा क्यारिङ गर्नेले पिस हिसाबले पैसाँ लिने गर्दछन् ।’

आइतबार, ०९ मंसिर, २०८१, रातीको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर