विराटनगर । विराटनगर– १३ स्थित श्रीबाल माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गर्ने प्रक्रियामा विवाद उत्पन्न भएको छ । विद्यालय व्यवस्थाप समितिका अध्यक्ष रामचन्द्र महतो गैह्रजिम्मेवार बन्दै कार्यक्रमको अध्यक्षता नगरी बाहिरिएपछि विवाद भएको हो ।
विद्यालयले शनिबार शिक्षक अभिभावक संघ गठन तथा विविध विषयमा छलफल कार्यक्रमको आयोजना गरेको थियो । तर कार्यक्रम तालिका अनुसार सम्पन्न हुन सकेन । कार्यक्रम अवधिभर होहल्ला, नाराबाजी चल्यो ।
कार्यक्रम शुभारम्भको घोषणा गर्ने बित्तिकै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले आपत्ति जनाए । उनले शिक्षक अभिभावक संघ गठनलाई राजनीतिकरण गरिएको भन्दै बहिष्कारको घोषणा गरे । महतोले संघ निर्माण जस्तो कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तिहरूलाई समेत सहभागी गराएर विद्यालयमा राजनीति प्रवेश गराउन नहुने भन्दै यस्तो कार्यक्रमलाई बहिष्कार गर्ने बताए । लगत्तै उनी विद्यालय छाडेर हिँडे ।
कार्यक्रमको अध्यक्षता ग्रहण नगरी विद्यालय परिसर छाडेर हिँडेपछि विराटनगर–१३ का वडाध्यक्ष सूर्यलाल यादवलाई अध्यक्षता ग्रहण गर्न लगाइएको थियो । महतोले कार्यक्रम स्थल छाडेर गएपछि उनी समर्थक युवाको टोली अझै उग्र बनेको थियो । उनीहरू निरन्तर हो–हल्ला र नाराबाजीमा ओर्लिरहे । एकातिर युवाहरूको हो–हल्ला चलिरहेको थियो भने अर्कोतर्फ कार्यक्रमलाई अगाडि बढाइएको थियो ।
विद्यालयका प्रधानाध्यापक अभिनन्दन यादवले विद्यालय व्यवस्थापन समितिले नै छलफल कार्यक्रममा राजनीतिक दलका पदाधिकारी, शिक्षाप्रेमी, शुभचिन्तक, बुद्धिजीविको संलग्नतामा संघको गठन गर्ने भनेर माइन्युटमा सहि छाप गरेको बताए । कार्यक्रम सुरु भएपछि बहिष्कार गर्ने व्यवस्थापन समितिको अध्यक्ष महतोले दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले विद्यालयमा आउने रकम एकैपैसा पनि हिनामिना गर्न आफूले नदिएको र सिद्धान्तमा अडिएकोले व्यवस्थापन समितिका केहि सदस्य आफूलाई विद्यालयबाट निकाल्न लागिपरेको समेत बताए ।
यसअघि विद्यालयकोे चारकोठे भवन निमार्णमा ६ लाख रूपैयाँ आर्थिक चलखेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतो मुछिएका थिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निमार्ण भएको चारकोठे भवन निर्माणमा विद्यालय व्यवस्थापन समिति र उपभोक्ता समितिको मिलेमतोमा ६ लाख रुपैयाँ बढी हिसाब देखाएर आर्थिक चलखेलको गर्न खोजिएका थिए ।
विद्यालयको भवन निमार्णको लागि विराटनगर महानगरपालिकाले ४५ लाख २९२ रुपैयाँ बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भएपछि ११ पुस २०७९ मा सम्झौता भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोको अध्यक्षमा निमार्ण समिति गठन गरेर १४ पुसबाट काम सुरु भयो । २० असार २०८० मा निमार्ण कार्य सम्पन्न गरिनुपर्ने भवन ४ चैतमा सम्पन्न भएको थियो ।
५ चैतमा विराटनगर महानगरपालिकाको प्राविधिकसहितको नापी हुँदा उक्त विद्यालयको चारकोठे भवन निमार्णको कुल खर्च ४४ लाख ९३ हजार ४२ रुपैयाँ ५२ पैसाँ देखाएको छ । जुन इस्टिमेट भन्दा ७ हजार २४९ रुपैयाँ ४८ घटी हो । तर, निमार्ण समितिले भने ५१ लाख रूपैयाँ खर्च भएको भन्दै विद्यालयमा बिल पेश गरेको पाइएको छ । जुन सम्झौता रकम भन्दा ५ लाख ९९ हजार ७०८ रुपैयाँ बढी रकम थियो । इस्टिमेट भन्दा बढी भुक्तानी दावी गरेपछि सो रकम महानगरपालिकाले भुक्तानी दिएको छैन ।