विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी तथा कीर्ते प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जापान उड्ने दिन नै आरोपीहरुले राईद्वयलाई भेटेर परिचय पत्र बनाउन लगाएको पाइएको प्रहरीले जनाएको छ । सुरुमा उनीहरुले आरोप अस्वीकार गरेपनि मोबाइलमा सर्च गरेर हेर्दा नक्कली परिचय पत्र भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनीहरुले बागबजारमा जापान जान खोजेका तीन जनाको खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।
मन्त्री अधिकारीसँग टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ गते नक्कली कागजात बनाएर तीन जना जापान उडेका थिए । खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा अधिकारीसँगै नक्कली कागजात बनाएर जापान जान खोजेकोमा टोकियोको नारिता विमानस्थल अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।
जापानबाट डिपोर्ट भएपछि तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए भने अधिकारीलाई विराटनगरबाट आइतबार पक्राउ गरेर प्रहरीले काठमाडौं लगेको हो यो प्रकराण्मा यसअघि नै नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेसमेत पक्राउ परिसकेका छन् । उनीहरुसँगै जापान प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
यसैबीच अधिकारीलाई प्रहरीले म्याद थपको लागि जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको छ । मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न प्रहरीले अधिकारीलाई अदालत लगेको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।
अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएकोमा आज थप १० दिन हिरासतमा राख्न अनुमति मागिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ ।