विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेर मानव ओसारपसार तथा बेचविखनविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
पहिले यो प्रकरणमा सरकारी लिखत कीर्तेको कसुरमा मात्र अनुसन्धान भइरहेकोमा अधिकारीलाई पक्राउ गरेसँगै प्रहरीले यो मामलाको अनुसन्धानलाई मानव तस्करीको कसुरतर्फ लगेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसा, पूर्वमन्त्री अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ विपरितको कसुर र लिखत कीर्तेमा अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको छ । यसअघि पक्राउ परेका अभियुक्तसँगै म्याद मिलान हुनेगरी अदालतबाट अहिले २ दिनको म्याद लिएको उनले जानकारी दिए ।
काठमाडौं प्रहरीका अनुसार, अधिकारीमाथि मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (२) अनुसारको अभियोग लगाइएको छ । यसमा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै गैरकानूनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासीलाई नक्कली वा झुठ्ठा कागजात बनाई वा झुक्याई विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानूनी रुपमा प्रवेश गराउने मानव तस्करी सम्बन्धी कार्य गरे वा गराए’ कसुर हुने भनिएको छ ।
प्रहरी अधिकृतहरुका अनुसार, पहिले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा मानव तस्करी सम्बन्धमा स्पष्ट व्यवस्था थिएन । तर, यो ऐनलाई संशोधन गरेर २०८० चैतमा राजपत्रमा प्रकाशित भएसँगै प्रहरीले मानव तस्करीको कसुरमा पनि मुद्दा अघि बढाउने बाटो खुलेको थियो ।
मानव तस्करीमा अनुसन्धान अघि बढ्दा निवर्तमान मन्त्री अधिकारी अनुसन्धानको दायरामा परेका थिएनन् । तर, काठमाडौं प्रहरीले पक्राउ परेका तीन जनाको बयानपछि यो मामलालाई मानव तस्करीको कसुरका रुपमा लैजाने निर्णयसहित अधिकारीलाई पक्राउ गर्न अनुमति लिएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।