विराटनगर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की प्रहरीलाई जिल्ला अदालतले अनुमति दिएको छ।
यस्तै, कसुरमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी , सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईं र गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार रामबहादुर खनालमाथि पनि अनुसन्धान गर्न प्रहरीले त्यति नै म्याद पाएको छ । यसअघि प्रहरीले १० दिन म्याद पाएको थियो।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलगायत ४ जनालाई हिरासतमा राख्ने म्याद १३ दिन थपेको हो। आइतबार सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले लगायतले बहस गरेका थिए।
जीबी राई समूहले सञ्चालन गरेका सूर्यदर्शनसहित ५ सहकारीबाट झन्डै ४० वटा कम्पनीमा रकम गएको तथ्य संसदीय छानबिन समितिले यसअघिनै सार्वजनिक गरेको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसँग सम्बन्धित जग्गाको स्रेस्ता, बैंक खाताको विवरणलगायतका कागजात झिकाउने काम भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा भेटिएका तथ्य प्रमाण नष्ट हुने सम्भावना भएकाले समेत लामिछानेलगायतलाई हिरासतमै राख्नुपर्ने सरकारी वकिल र जाहेरवालाका अधिवक्ताले जिकिर गरेका थिए।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौंबाट कात्तिक २ मा पक्राउ गरेर कास्की पुर्याइएको थियो। उनलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको थियो। तेस्रो पटक कात्तिक १४ मा म्याद सकिएपछि १० दिन थपिएको थियो । १० दिनको म्याद सकिएपछि उनलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।