विराटनगर । उद्योग संगठन मोरङ एसियाकै उत्कृष्ट स्थानीय चेम्बर बन्न सफल भएको छ । क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरीको विजेताको रूपमा चयन भएपछि उद्योग संगठन मोरङको १४ सदस्यीय टोली अवार्ड ग्रहण गर्न सिंगापुर प्रस्थान गरेको हो । त्यहाँ संगठनलाई औपचारिक समारोहमा ट्रफि र यु.यस. डलर २००० नगद राशी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका व्यापारिक समुदायहरू सहभागि हुने कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिज र सिङापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा कार्तिक २६ र २७ गते सिंगापुरमा हुने ईकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधि मण्डलले सहभागिता जनाउने छ ।
एसिया इकोनोमिक फोरममा सहभागीता, उत्कृष्ठ चेम्बर अवार्ड ग्रहण, कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्ताहरुलाई आमन्त्रण गर्न र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचार प्रसार तथा कोशी पर्यटन बर्ष २०८२ को प्रचार प्रसार गर्ने गरी चार वटा मिसन तय गरी टोली सिङापुर प्रस्थान गरेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
एसिया प्रशान्त क्षेत्रका बिजनेश लिडर, लगानीकर्ताहरुहरुको वृहत सहभागिता रहने उक्त फोरमलाई अवसरका रुपमा प्रयोग गर्दै संगठनले कोशी प्रदेशका लगानीका सम्भावनाहरु बारे एसिया फोरमका सहभागीहरुलाई जानकारी गराउदै अद्वितीय लगानीको सम्भावना रहेको कोशी प्रदेशमा लगानीका लागी कोशी प्रदेश सरकारका तर्फबाट कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा औपचारिक आमन्त्रण गरिने संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा संगठनको १४ सदस्यीय प्रतिनिधि मण्डल एशिया ईकोनोमिक फोरममा भाग लिन आज सिंगापुर तर्फ प्रस्थान गरेको हो । शनिबार एक प्रेस नोट जारी गर्दै संगठनले सिआईएम डेलिगेशन मिसन टु सिङापुर नामक मिसनमा त्यसतर्फ जान लागेको जानकारी गराएको छ ।
प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्षत्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, बिपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सहभागी हुनेछन् ।
दुई दिने चल्ने सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापी रुपमा प्रभाव पार्ने महत्वपूर्ण विषयहरूमा विशेषज्ञहरूको नेतृत्वमा छलफल हुनेछ । त्यसैगरी व्यापार, आपूर्ति श्रृङ्खला र अन्य व्यापारिक विषयहरूका साथै एसिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदार बिच विश्वव्यापी व्यापारको भविष्यका वारेमा अनुभवहरू साटासाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आगामी माघ ११, १२ र १३ मा विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय फोरममा प्रचार प्रसार गर्न र आमन्त्रण गर्न प्रदेश सरकारले संगठनलाई अनुरोध गरेको अध्यक्ष सुरानाले जानकारी दिए ।
कोशी प्रदेश लगानी सम्मेलनलाई थप उपलब्धीमूलक बनाउन संगठनले गर्ने विराट एक्स्पोको ८ औं संस्करणको कार्यक्रमसमेत लगानी सम्मेलनसँगै उद्योग संगठनसंगको सह–आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको सुरानाले जानकारी दिए ।
कोशी प्रदेश सरकारले संगठनसंगको सह–संयोजनमा विराट एक्स्पोको आयोजना स्थलमा नै कोशी प्रदेश लगानी सम्मेलन २०८१ गर्ने औपचारिक पत्र पाएपछि संगठनले विराट एक्स्पोको कार्यतालिका २०८१ माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा गर्ने गरी परिमार्जन गरेको संगठले जनाएको छ ।