कानुनको पढाई सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाई सुरु गर्ने भएको छ ।
विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखी पठनपाठन सुरु हुनेगरी स्नातकतर्फ विविए, एलएलबी र स्नातकतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी गरेको हो ।

स्नातकतर्फ नेपालमै पहिलो पटक बिबिए एलएलबीको पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौं’, उपकुलपति पोखरेलले भने ।

उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्ष ५ वर्षको हुनेछ । विद्यार्थीहरुले अति न्यून शुल्क ४ लाख ५० हजार रुपैयाँमै कोर्ष पूरा गर्न पाउनेछन् । मनमोहनले नयाँ कोर्षअनुसार कानुन पढ्न चाहने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यावस्था पनि गरेको जनाएको छ । महिला, दलितलगायतलाई ४५ सिटको कोटा मध्येबाट दश प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ ।

बिबिए एलएलबी कोर्षमा सैद्धान्तिक नभएर बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरुले आफैं अनुसन्धान र सर्भे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउने छन् । यसैगरी खरिद प्रकृयाबारे पनि विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार बिबिए एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाटसमेत विज्ञ शिक्षकहरु ल्याइनेछ ।

कानुन पढ्न चाहने विद्यार्थीहरुले यही कार्तिक मसान्तभित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्ने छ ।

आइतबार, २५ कार्तिक, २०८१, बिहानको ०८:४९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर