ग्रामथान उपनिर्वाचन : एमालेबाट तीन जनाको नाम सिफारिस

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेकपा (एमाले)मा तीन जनाको नाम सिफारिस गरिएको छ ।
आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीन जनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।

गाउँपालिका कमिटिीबाट ११ जनाको नाम सिफारिस आएकोमा जिल्लाबाट तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम प्रदेशमा सिफारिस गरिएको एमाले मोरङ इञ्चार्ज जीवन घिमिरेले जानकारी दिए । उनीहरुमध्ये विश्वास र माझीमध्ये एक जना उम्मेदवार बन्ने संभावना रहेको बुझिएको छ ।

एमाले ग्रामथान गाउँ कमिटीले भने ११ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । जिल्लाले सुझावसहित प्रदेश कमिटीमा नाम पठाएको बताइएको छ । पालिका र जिल्ला पठाएको नामका आधारमा कात्तिक २४ गते उम्मेदवारको नाम टुङ्गो लगाउने एमाले प्रदेश कमिटिले जनाएको छ ।

अध्यक्षको उम्मेदवारको दाबी गरिरहेका माझी भने तत्कालीन झोराहाट गाउँ विकास समितिका अध्यक्ष हुन् । उनी २०५४ सालमा एमालेका तर्फबाट झोराहाट गाविसमा अध्यक्षमा विजयी भएका थिए । उनी २०७४ मा भने उनी ग्रामथान २ मा वडाध्यक्षमा विजयी भएका थिए ।

अध्यक्षको उम्मेदवारका आकांक्षी तुलसी विश्वास भने एमाले ग्रामथान गाउँ कमिटीका उपाध्यक्ष हुन् । उनी ७९को निर्वाचन अघि नेपाली काँग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।

ग्रामथान गाउँकमिटिले पूर्वअध्यक्ष शिवनारायण माझी, तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आसनारायण माझी, तुलसी विश्वास, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठको नाम पनि सिफारिस गरेको थियो । शिवनारायण २०७४ को निर्वाचनमा पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा भने जयप्रकाश गच्छदार थारुसँग पराजित भएका थिए । उनी उम्मेदवार बन्ने संभावना भएपनि केहि समय अगाडि जुवा खालबाट पक्राउ परेकोले उनीको नाम सिफारिस नभएको एमाले स्रोतले जनाएको छ ।

शुक्रबार, २३ कार्तिक, २०८१, दिउँसोको ०२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर