विराटनगर । नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमति अञ्जला कोइराला सञ्चालक रहेको मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले सहकारीका अध्यक्ष धनपालथान ४ का शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध पक्राउका लागि बुधबार मोरङ जिल्ला अदालतबाट अनुमति लिएको हो । तर, सहकारी ठगीमा जोडिएकी ऋषिकेशपत्नी अञ्जला कोइरालाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन ।
पक्राउ पुर्जी जारी हुनेहरुमा रौनियारसहित सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर छन् । यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । सहकारीमा सांसद पोखरेलकी श्रीमती अञ्जला कोइराला सञ्चालक रहेको अबधिमा १२ करोडभन्दा बढि अनियमितता भएको खुलेको छ । तर, कोइरालाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ ।
कोइराला सञ्चालक भएको बेला सहकारीले बुटवलमा मुख्य कार्यालय रहेको आरएसडिसी लघुवित्तबाट ऋण लिएको थियो । कोइरालासहितले जमानत बसेर लिएको ऋण नबुझाएपछि सहकारीले उनीसहित सञ्चालकहरुलाई कालोसुचीमा राखेको छ ।
कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीमा अनियमितता भएको निश्कर्षसहित छानविनको लागि प्रहरीमा प्रतिवेदन दिएको छ । कार्यालयको प्रतिवेदनमा कोइरालाको नाम छैन । सहकारी रजिष्ट्रारले पठाएको प्रतिवेदन अनुसार पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
सहकारीको अनियमितता छानविनको लागि अहिले बहाल रहेका सञ्चालकविरुद्ध जिल्ला अदालत मोरङबाट सहकारीको बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले पुष्टि गरे । उनीहरु पक्राउ परेपछि हुने अनुसन्धानले अन्य व्यक्तिहरु पनि छानविनको दायरामा आउने प्रहरीको दावी छ ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द छ । सहकारीको कागजात माग गर्दा नदिएपछि कात्तिक १४ गते प्रहरीले सटरको ताला फुटाएर केहि कागजात जफत गरेको थियो ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्षका अघोषित सल्लाहकार पोखरेल !