एमाले नेता थापा प्रदेश विभागको सचिव

विराटनगर । नेकपा एमालेका युवा नेता तथा विराटनगरका निवर्तमान अध्यक्ष सागर थापामाथिको कारबाही फुकुवा गर्दै पार्टीले प्रदेशस्तरीय विभागको सचिवको जिम्मेवारी दिएको छ ।

असोज १० गते जारी एमालेको अन्तरपार्टी निर्देशन–५ मा थापालाई शहरी विकास विभागको सचिवको जिम्मेवारी दिइएको उल्लेख छ । विराटनगरको पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट विवाद सुरु भएपछि थापालाई एमालेले कारबाही तथा निलम्बन गरेको थियो । विवाद बढ्दै जाँदा एमालेले विराटनगर महानगरको निर्वाचित कमिटीलाई हटाएर नयाँ पदाधिकारी चयन गरेको छ ।थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको र पार्टीको निर्णय पालना नगरेको आरोप लागेको थियो । उनलाई कारबाही र निलम्बन गरेपछि उनको राजनीतिक भविष्यप्रति विभिन्न टिका टिप्पणी भइरहेकोमा एमालेले पुनः जिम्मेवारीमा फर्काएको हो ।

थापाले पाएको विभागको प्रमुखमा सुनसरीका लोकेश निरौला रहेका छन् भने उपप्रमुखमा सुशीला पहाडी रहेकी छन् । एमालेले जारी गरेको अपानीमा ३१ वटा विभागहरुलाई पूर्णता दिइएको छ । यस्तै एमालेले कोशी प्रदेश समितिमा २९ जनालाई प्रदेश कमिटीको सचिवालयमा नियुक्त गरेको छ ।

अपानीमा एमालेले यसअघि जारी गरेको १३ बुँदे आचारसंहिता पारित भएको जनाइएको छ । एमालेले नरबहादुर गुरुङ, रोजिना पाण्डे, डिल्लीराम शर्मा अधिकारी, खेम नेपाली र श्रीप्रसाद मैनालीलाई प्रदेश कमिटीको रिक्त रहेको ५ सदस्य पदमा मनोनयन गरेको जनाएको छ । यस्तै १६ जनालाई प्रदेश समिति सदस्यमा मनोनित गरेको छ भने विभिन्न पार्टीबाट समायोजनको प्रक्रियामा आएका १४ जनालाई पनि प्रदेश समितिमा मनोनित गरेको छ ।

एमालेले कोशी प्रदेश कमिटीको सल्लाहकार परिषदमा १३२ जना, जेष्ठ कम्युनिष्ट मञ्चमा ५९ जना मनोनित गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको अपानीमा उल्लेख छ ।

मङ्गलबार, १३ कार्तिक, २०८१, बिहानको ०९:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर