मेरो योजना केही छैन : मोरङ प्रहरी प्रमुख चिमरिया

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले आफ्नो कुनै पनि योजना नरहेको बताएका छन् ।मोरङ प्रहरी प्रमुखको जिम्मेवारी समालेको दुई दिनपछि बुधवार सञ्चार कर्मीहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्रचलित नियम र कानुन अनुसार नागरिक मैत्री सेवा दिएर अगाडी बढ्नेछु,’ उनले भने, ‘अहिले मेरो त्यो गर्छु उसो गर्छु भन्ने केही छैन । मैले त्यस्तो योजना पनि केही बनाएका छैन ।’ प्रहरी नियम र ऐन अनुसार काम कारबाही अगाडी बढाएर अगाडी बढने उनले बताए । ‘तपाइहरूले दिएको सुझावलाई ग्रहण गर्दै अगाडी बढ्नेछु,’ एसपी चिमरियाले भने, ‘प्रहरी कार्यालय आएका सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा प्रदान गर्नेछु ।’

जिल्लामा शान्ति सुरक्षा कायम गर्दै चोरी र खुल्ला सीमाबाट हुने तस्करी रोकथाम र नियन्त्रण गरेर अगाडी बढने उनले प्रतिबद्धता जनाए ।आर्थिक लेनदेनको विवादमा एसपी नवराज कार्कीलाई आठ महिनामा तानेर गत शुक्रवार प्रहरी प्रधान कार्यालयले राजन लिम्बूलाई काज तोकेको थियो । एमाले निकटलाई प्रहरी प्रमुखमा पठाएको भन्दै नेपाली काँग्रेसका नेताहरूले लिम्बूलाई मोरङ नपठाउन गृहमन्त्री रमेश लेखकलाई दबाब दिएपछि उनको निर्देशनमा मोरङमा हाजिर न भई लिम्बूको काज फिर्ता गरेर चिमरियालाई पठाएको हो । एसपी चिमरियाले सोमबार कार्यभार समालेका छन् । उनी यसअघि सुनसरीको दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणको प्रमुख थिए । उनको गृह जिल्ला झापा हो ।

बुधबार, ०७ कार्तिक, २०८१, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर