हर्क साम्पाङले कार्यवाहक मेयर दिएका वडाध्यक्ष जान छोडे उपमहानगर

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी दिएका वडाध्यक्ष लोकेन्द्र फागो उपमहानगर कार्यालय जान छोडेका छन् । उनी मंगलवारबाट कार्यालय जान छोडेका हुन् ।

कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिए पनि वडाध्यक्ष फागो अटेर गरेरै कार्यालय गइरहेका थिए । उच्च अदालतले पत्र नै बुझाएपछि भने उनी उपमहानगर कार्यालय जान छाडेका हुन् । धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईका अनुसार अदालतले पठाएको पत्र बुझेपछि उनी कार्यालय जान छाडेका छन् ।

आइतवार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयर साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । उच्च अदालतले छलफलका लागि मङ्गलवार दुवै पक्षलाई बोलाएको थियो । छलफलमा मेयर राईको तर्फबाट कोही पनि सहभागी भएका थिएनन् । अब यसको पेशी कात्तिक १३ गतेलाई तोकिएको छ । सो अवधिसम्मका लागि भने अन्तरिम आदेशलाई नै अदालतले निरन्तरता दिएको छ ।

यता वडाध्यक्ष फागोले भने अदालतको अन्तरिम आदेश आएपछि जनतालाई हँसाउनु हुँदैन भनेर उपमहानगर नगएको बताएका छन् ।

दुई साताका लागि बेलायत गएका मेयर साम्पाङले कार्यवाहकको जिम्मेवारी उपमेयर अइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको भन्दै उपप्रमुख बेघाले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए । कार्यवहाक दिएका फागो हर्कका नातामा मामा ससुरा समेत हुन् ।

उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको भनेर मेयर साम्पाङको आलोचना भएको थियो । धरानका राजनीतिक दलहरूले पनि मेयरको विरोध गरेका थिए । अदालतको आदेशपछि पनि मेयर साम्पाङले भने अदालतले आफूलाई नचुनेको टिप्पणी गरेका थिए ।

बुधबार, ०७ कार्तिक, २०८१, बिहानको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर