कोशीका ठूला सहकारीमा बचत विवरण : पाँच लाखसम्मको बचत गर्ने १३ हजार

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका ठूला सहकारीहरुमा ५ लाख रुपैयाँसम्म बचत गर्नेहरुको ३३ अर्बभन्दा बढि रकम रहेको देखिएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरेअनुसार समस्याग्रस्त सहकारीमा ५ लाखसम्मको बचत सरकारले फिर्ता गर्न संकलन गरिएको विवरणमा सो तथ्यांक देखिएको हो ।

तत्कालिन अर्थमन्त्री वर्षामान पुन (अनन्त)ले चालू आर्थिक वर्षका लागि गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा, ‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तीको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मको बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरेका थिए ।

सो अनुसार कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आफ्नो मातहतमा रहेका सहकारी संघ÷संस्थाहरुमा ५ लाखसम्म बचत गर्ने वचतकर्ताको जम्मा रकम र सदस्यको प्रारम्भिक विवरण तयार पारेको हो ।

रजिष्ट्रार कार्यालयले दिएको जानकारी अनुसार तीन जिल्लाका ११२ वटा सहकारीमा ३ लाखसम्म बचत गर्ने ८ लाख ८ हजार ४३९ बचतकर्ताको २८ अर्ब २० करोड ११ लाख ७ हजार ५८० रुपैयाँ रहेको छ । यस्तै ५ लाखसम्म बचत गर्ने १३ हजार ८७२ जना बचतकर्ताको ४ अर्ब ९० करोड ९५ लाख ३७ हजार ४१७ रुपैयाँ रहेको देखिएको छ ।

संघीय सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी व्यवसाय प्रबद्र्धन तथा संघ÷संस्था समन्वय शाखाले गत भदौ ११ गतेको पत्राचार गरी ५ लाखसम्मको बचतकर्ताको विवरण माग गरेको थियो । सोही अनुसार रजिष्टार कार्यालयले झापा, मोरङ र सुनसरीलाई केन्द्रीत गरेर संकलन गरिएको ११२ वटा सहकारीको प्रारम्भिक विवरण प्रदेश मन्त्रालयमा पठाएको सहकारी रजिष्टारको कार्यालयले जनाएको छ ।

अन्य विवरण आउन अझै बाँकी रहेको रजिष्टार कार्यालयले जनाएको छ । प्राप्त विवरण अनुसार झापाको विर्तामोडमा रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ३ लाखसम्म बचत गर्नेको संख्या १ लाख ७० हजार २९७ छ । उनीहरुको ९ अर्ब ८० करोड ६५ लाख ९६ हजार २३८ रुपैयाँ बचत छ । नेपालकै ठूलो सहकारीमध्येको साहरामा ५ लाखसम्म बचत गर्नेको संख्या १ हजार ४५३ छ । उनीहरुको ५४ करोड ३ लाख ६४ हजार ९३६ रुपैयाँ बचत सहकारीमा छ ।

विर्तामोडकै कर्णाली बचत तथा ऋण सहकारी संस्थामा ३ लाखसम्मका बचतकर्ता ५६ हजार ३९२ जनाको १ अर्ब ९५ करोड ४० लाख ७ हजार ९५१ र ५ लाखसम्मका ४५३ जना बचतकर्ताको १७ करोड ७९ हजार ४४५ रुपैयाँ छ । यस्तै विर्तामोडकै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को ३ लाखसम्म बचत गर्ने ३७ हजार ८१० बचतकर्ताको १ अर्ब २१ करोड ७ लाख ४१ हजार रुपैयाँ छ भने ५ लाखसम्मका ७४ जनाको ६ करोड ४० लाख २६ हजार ७६६ रुपैयाँ रहेको छ ।

झापाको मेचीनगर ६ झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा ३ लाखसम्म बचत गर्ने १ लाख ६३ हजार १० जना बचतकर्ताको ४ अर्ब ३६ करोड ३२ हजार ९१ रुपैयाँ रहेको छ भने ५ लाखसम्म बचत गर्ने २ हजार ३५३ जना बचतकर्ताको ८९ करोड ४६ लाख २४ हजार ४५२ रुपैयाँ बचत रहेको छ । झापाकै सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोडको पनि ३ लाखसम्म बचत गर्ने ६४ हजार ६२६ जना बचतकर्ताको १ अर्ब ४० करोड ९२ लाख ३६ हजार ७५५ रुपैयाँ र ५ लाखसम्म बचत गर्ने ३८७ जना बचतकर्ताको १४ करोड ४६ लाख ४९ हजार ९७३ रुपैयाँ बचत रहेको छ ।

सहकारी रजिष्टार कार्यालयले दिएको विवरणमा राखिएका कतिपय सहकारी समस्याग्रस्त घोषणा गर्नुपर्ने खालको रहेको प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था, इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्था, धरानको बराह बचत तथा ऋण सहकारी संस्थालाई तत्कालै संकटग्रस्त घोषणा गर्नुपर्ने अवस्था छ ।

यस्तै झापा कमल गाउँपालिकाको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था, मोरङको धनपालथानको उमागौरी कृषि सहकारी संस्था, झापा शिवसताक्षी नगरपालिकामा रहेको उन्नति बचत तथा ऋण सहकारी पनि समस्यामा छन् । उदयपुर, मोरङ र झापामा त्यस्ता थुप्रै सहकारीहरु समस्याग्रस्त रहेको मन्त्रालयको अनुगमनबाट पनि देखिएको छ ।

ती सहकारीमा सर्वसाधरणले बचत गरेको अरबौं रुपैयाँ जोखिममा छ । सरकारले भनेजस्तो ५ लाखसम्मको बचत रकम फिर्ता गर्ने हो भने अरबौं रुपैयाँ आवश्यक पर्ने कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयको अनुगमन शाखाका प्रमुख लिलाबल्लभ चापागाईं बताउँछन् । ‘घोषणा गरिएजस्तो बचत फिर्ता गर्न सम्भव छैन,’ उनले भने ।

सहकारीका सञ्चालकहरुले मनोमानी किसिमले लगानी गरेको, साधरणसभा कागजमा मात्रै भएको, नियमनकारी निकायमा दक्ष जनशक्ति नभएको, सर्वसाधारणले गरेको बचत फिर्ता नगरेको र ऋण असुली गर्न नसकेको जस्ता समस्या मन्त्रालयले अनुगमनको क्रममा भेटेको छ । यस्तै धितोको बढी मूल्याङ्कन गरेर पनि ऋण प्रवाह भएको, ऐन, नियमको पालना नगरेको, आजै सदस्यता दिने, आजै ऋण दिने समस्या देखिएको अनुगमन प्रतिवेदनले औंल्याएको छ ।

कोशी प्रदेशमा १ अर्ब माथि सम्पत्ती र दायित्व भएका सहकारीको संख्या १२ वटा छ । तीमध्ये ११ वटा सहकारी झापामा मात्रै छन् । यस्तै प्रदेशमा ५० करोडदेखि १ अर्बसम्म कारोबार गर्ने १३ वटा, २५ करोडदेखि ५० करोडसम्म कारोबार गर्ने ३१ वटा र ५ करोडदेखि २५ करोडसम्म कारोबार गर्ने सहकारीको संख्या ९७ वटा छन् ।

कोशी प्रदेश अन्तर्गत नियमन हुने सहकारी १ हजार ७८ वटा छन् भने स्थानीय सरकार अन्तर्गत ३ हजार ६५१ वटा सहकारी छन् । प्रदेश सरकार अन्तर्गत रहेका १ हजार ७८ सहकारीमा मात्रै १२ लाख १५ हजार ३४४ सदस्यको १३ अर्ब २४ करोड २७ लाख ८ हजार रुपैयाँ शेयरपूँजी र वचतकर्ताको ६५ अर्ब ५८ करोड ८७ लाख ७५ हजार रुपैयाँ बचत रहेको छ ।

ती सहकारीहरुको ऋण लगानी भने ८१ अर्ब १३ करोड ९ लाख ५४ हजार रहेको छ । सहकारीको जम्मा कोष ९ अर्ब ३३ करोड ८२ लाख १८ हजार र कूल सम्पत्ती दायित्व १ खर्ब ३ अर्ब ९ करोड २१ लाख ५४ हजार रहेको छ ।

कोशी प्रदेशमा भएका सबै सहकारीमा २१ लाख ७८ हजार ५०३ शेयर सदस्यको कूल शेयर पूँजी २१ अर्ब ५२ करोड ९२ लाख ८२ हजार ८२२ रुपैयाँ छ । ती सहकारीमा सर्वसाधारण्को कूल बचत ९२ अर्ब २५ करोड ५९ लाख ७९ हजार ३२८, कूल कोष ११ अर्ब ५९ करोड ६७ लाख ७५ हजार ८१३, कर्जा प्रवाह १ खर्ब १३ अर्ब ११ करोड १८ लाख ९८ हजार ७१३ गरी जम्मा सम्पत्ती र दायित्व १ खर्ब ४५ अर्ब १७ करोड ३७ लाख ४१ हजार ४८ रुपैयाँ रहेको छ ।

कोशीका सहकारीमा १४ हजार २५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मङ्गलबार, ०६ कार्तिक, २०८१, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर