धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कानुनविपरीत दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले दिएको आदेश कार्यान्वयन गर्न वडाध्यक्ष लोकेन्द्र फागोले अटेर गरेका छन् ।
अदालतबाट पत्र नआएको भन्दै उनले कार्यवाहकै भूमिकामा रहने जिकिर गरेका हुन् । आइतबार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । उच्च अदालतले छलफलका लागि मंगलबार दुवै पक्षलाई बोलाएको थियो ।
वडाध्यक्ष फागोले अदालतको पत्र अझै आइनसकेकाले आफू कार्यवाहक मेयरकै जिम्मेवारीमा बसेको बताए । ‘अदालतले परिपत्र गरेपछि छोड्नुपर्छ, तर पत्र आएपछि छोड्नेगरी बसेको छु,’ उनले भने, ‘पत्र आएको छैन, मैले पनि त्यही प्रतिक्षा गरिरहेको छु ।’
मेयर र उपमेयरबीच मिलाप नहुँदा आफू विवादमा परेकोसमेत उनले बताए । ‘मलाई जबरजस्ती बस्नुपर्छ भन्ने नै होइन’ फागोले भने, ‘मेयर र उपमेयरको अनमेलका कारण ममाथि आइपुगेको हो ।’
दुई साताका लागि बेलायत गएका मेयर हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए ।
उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको भन्दै उपप्रमुख बेघाले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए ।