काँग्रेसको दबाबले मोरङको एसपीमा लिम्बूको सट्टा चिमरिया

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी नारायण चिमरिया आउने भएका छन् ।

आर्थिक लेनदेनको विवादमा एसपी नवराज कार्कीलाई तानेर गत शुक्रबार प्रहरी प्रधान कार्यालयले राजन लिम्बूलाई काज तोकेको थियो ।

नेपाली काँग्रेसका नेताहरुले लिम्बूलाई मोरङ नपठाउन गृहमन्त्री रमेश लेखकलाई दबाब दिएपछि उनको निर्देशनमा मोरङमा हाजिर न भई लिम्बूको काज फिर्ता भएको हो । लिम्बू डिएसपी हुँदा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अंगरक्षक थिए । एमाले निकटलाई प्रहरी प्रमुखमा पठाएको भन्दै काँग्रेस नेताहरुले आपत्ती जनाएपछि उनको काज रद्द गरेर चिमरिया पठाइएको हो ।

लिम्बू ताप्लेजुङको डिएसपी रहँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद (हाल उद्योग, कृषि तथा सहकारी मन्त्री) खगेनसिंह हाङगामले सार्वजनिक रुपमा धम्की दिएका थिए । त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व असन्तुष्ट रहेकोले मोरङ आउनबाट रोकिएको स्रोतले जनाएको छ ।

मोरङमा आउन लागेका एसपी चिमरिया सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए । उनको गृहजिल्ला झापा हो ।

प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । अफिसको आवश्यकताका कारण लिम्बूको निर्णय रोकिएको बताउँदै उनले नारायण चिमरियालाई पठाउने निर्णय भएको पुष्टि गरेका छन् ।

सोमबार, ०५ कार्तिक, २०८१, दिउँसोको १२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर