विराटनगर । चाडबाड सकेर राजधानी फर्किने यात्रुहरुले यस पटक बसको टिकट पाउन धेरै कसरत गर्नुपरेन । विराटनगर बसपार्कका टिकट काउन्टरहरु यात्रुहरुको व्यवस्थापनमा विगत वर्षहरुमा जस्तो यो वर्ष धेरै मेहनत गर्नु नपरेको बताउँछन् ।
‘काठमाडौं र पश्चिम जाने बसमा पहिले जस्तो चाप छैन । यात्रुले टिकट नपाउने अवस्था छैन । आरामले पाइरहेको छ,’ सुनौलो पूर्व नेपालका कर्मचारी राजेन्द्र खतिवडा बताउँछन्, ‘विगत वर्षका दसैँमा वीरगञ्जका गाडीहरु टीकाको भोलिपल्ट प्याक हुन्थ्यो । तर, यस पटक खाली नै गयो । काठमाडौं जाने बसहरु पनि टीकाको भोलिपल्टदेखि १० दिनसम्म प्याक हुन्थ्यो । अहिले त्यस्तो छैन । अफिस खुल्ने दिन मात्रै प्याक भयो ।’
विराटनगरकै कोशी पशुपति काउन्टरका कर्मचारी प्रदिपकुमार बर्मा पनि टिकट पाउन मुस्किल नभएको बताउँछन् । ‘टिकट पाउन मुस्किल छैन । एक दिन पछिको टिकट पाइन्छ । आज आउँदा भोली पाउँछ । कतिपय त खाली गाडी गइरहेका छन् । बिहानै आउँदा बेलुकाको सिट जस्तो भन्यो त्यस्तै पाउँछ ।’ यसपटक बाढीका कारण मानिसहरु राजधानी छोडेर आउन नसक्दा यात्रुको चाप कम भएको उनको अनुमान छ । ‘यतिखेर १० दिनसम्म गाडी प्याक हुन्थ्यो । अहिले त आयो टिकट लियो गयो भइरहेको छ,’ उनले भने ।
कोशी प्रदेश राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी निरीक्षक सुरेश अधिकारीले यात्रुबसहरुको चाप अलिक कम देखिएको बताए । ‘गाडी र यात्रुको चाप त छँदैछ । तर, विगत वर्षमा जस्तो धेरै भीडभाड देखिएको छैन,’ उनले भने । उनले असोज १७ गतेदेखि २९ गतेसम्मको दिएको तथ्याङ्क अनुसार काठमाडौंबाट १ हजार ९५९ सवारी साधनमा ३१ हजार ५४० यात्रु पूर्व आएका छन् । यस्तै सोही अवधिमा काठमाडौं जाने सवारी साधनको संख्या भने १ हजार ९३१ रहेको छ । जसमा १७ हजार ५९५ जना यात्रु सवार रहेका थिए ।