प्रदेश सरकार अन्तर्गत प्रहरी आउन नसक्नु दुःखद : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान बनेको ७ वर्ष पुगिसक्दा पनि प्रदेश सरकार अन्तर्गत प्रहरी आउन नसक्नु दुःखद भएको बताएका छन् ।

६९ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधान अनुसार तत्काल प्रहरीलाई प्रदेश सरकारमा संघीय सरकारले हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रहरीको संख्या वृद्धि गर्नुभन्दा प्रविधिको प्रयोग गरी प्रहरीको क्षमता र दक्षता अभिवृद्धि गर्न सकिने बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश मातहतमा प्रहरी आएको दुई वर्षभित्रमा प्रहरीहरूलाई साधन र स्रोत सम्पन्न बनाउने दावी गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सरकारको उपस्थिति देखाउने पहिलो युनिट भनेकै प्रहरी भएकाले यसलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने बताए । त्यसको लागि प्रदेशको मातहतमा प्रहरी आइनसकेको भएपनि प्रदेश सरकारले सहयोग गरिरहेको उनको भनाइ थियो ।

प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रबाट शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग गर्नेहरूलाई सम्मानित गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले १ लाख रुपैयाँ राशीको साधना प्रहरी सम्मान प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल थापा मगरलाई, २५ हजार राशीको विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक निरीक्षक कुल बहादुर बुढाथोकीलाई र उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार सीता कुमारी दुलाललाई प्रदान गरे ।

बुधबार, ३० असोज, २०८१, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर