दसैंको टीका पूर्व फर्किएर लगाउनुपर्ने: यस्तो छ टीका बिधि

विराटनगर । बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका एवं जमरा लगाइँदै छ ।

आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउने उत्तम साइत ११:३६ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

टीका लगाउदा पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै पुरानो परम्परा हो । उत्तरदक्षिण पितृकर्म मात्रै गरिन्छ ।

दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ ।

घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ । तर, हतारो हुनेहरुले साइत नपर्खी टीका लगाउन सक्ने पन्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा नहुने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा.देवमणी भट्टराईले बताए । पुर्णिमासम्म टीका लगाउने चलन रहेकोले साइत पर्खनु नपर्ने उनको भनाई छ ।

शनिबार, २६ असोज, २०८१, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर