विपद्ले प्रभावित कोशी प्रदेशका भीआइपीको दसैँ

विपद्को असरले कोशी प्रदेशका भीआइपीहरुको दसैँ पनि प्रभावित

विराटनगर । नेपालीहरुको महान चाँड बडा दसैँले सबैको घरदैलो ढकढक्याउँदै गर्दा असोजको दोस्रो साता आएको बाढी पहिरोको शोकमा देश नै डुबेको छ । त्यसैले पनि सँधैको जस्तो दसैँँको रौनक त्यति छैन । असोज १० गते देखि तीन दिनसम्म अविरल वर्षाका कारण आएको बाढी र पहिरोले धेरै घरपरिवार विस्थापित भएका छन् । धनजनको क्षति भएको छ । धेरैको परिवार शोकमा डुबेको छ ।

खोलामा आएको बाढीले पुल बगाएर कतिको घर जानका निम्ति बाटो टुटेको छ । यसले गर्दा पनि यसपालिको दसैँँ खासै उत्साजनक छैन । कोशी प्रदेशमा पनि बाढीको कारण २२ जनाको मृत्यु भएको छ भने आधा दर्जन अझै बेपत्ता छन् । अर्बौको भौतिक संरचामा क्षति पुगेको छ । सयौं घरबारविहिन भएका छन् । बाढी र पहिरोको कारण अबरुद्ध भएका कतिपय सडक अझै सहज रुपमा सुचारु नहुँदा दसैँमा घर जानेहरुलाई पनि सास्ती छ ।

यो पटकको दसैँ शोकसँगै आएकोले पनि उत्साह ठूलो छैन । यसअघि दसैँको समयमा शुभकामना आदनप्रदानका कार्यक्रम राजनीतिक दलदेखि संघसंस्थाले गर्ने गर्दथे । तर, देशमा आएको बिपत्तीले त्यस्ता कार्यक्रम सबैले स्थगित गरेका छन् । विपद्को असरले कोशी प्रदेशका भीआइपीहरुको दसैँ पनि प्रभावित भएको छ । उनीहरु दसैँमा के गर्दैछन् भन्नेबारेमा हामीले सोधेको छौं । यस्तो छ, उनीहरुको दसैँ तयारीः

यसपटक उत्साहपूर्ण छैन

पर्शुराम खापुङ, प्रदेश प्रमुख

यसपटकको दसैँ उत्साहपूर्ण रुपमा मनाउने अवस्था नरहेको कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ बताउँछन् । उनी भन्छन्, ‘बाढी र पहिरोले यतिबेला राष्ट्रिय शोकमा छ । त्यसले गर्दा दसैँ मेरो निम्ति पनि र सबै नेपालीहरुका निम्ति उत्साहजनक भएन ।’

तेह्रथुम पुर्खौली घर भएका प्रदेश प्रमुखको परिवार भने काठमाडौंमा छन् । वर्षदिनको पर्व भएकाले दसैँँमा परिवार भेटघाटका लागि काठमाडौं जाने योजनामा खापुङ छन् । ‘पहाडमा भाई बुहारी मात्र हुनुहन्छ । काठमाडौंमा श्रीमती छोराछोरी भएकाले म उतै जाने योजनामा छु’ उनले सुनाए, ‘उत्साजनक नभएपनि आफन्त भेटघाटको कार्यक्रम हुन्छ । खुशी हुने, रमाईलो हुने अवस्था देशमा भएको विपत्तिका कारण छैन ।’

धेरैले परिवार गुमाएको छ । धनजनको क्षति भएको छ । देश शोकमा डुबेको छ । वर्ष दिनको चाँड भएकाले परिवार भेटघाट गर्न मात्रै काठमाडांै जाने उनले बताए । आदिवासी समुदायबाट भएपनि प्रदेश प्रमुख खापुङको परिवारमा टिका लगाउने पुरानै चलन छ । ‘मेरो परिवारमा पहिलादेखि नै टिका लगाउने चलन थियो । तर, यो दसैँँमा राष्ट्र शोकमा डुबेको कारण मेरो परिवारले टिका नलगाउने निर्णय गरेका छौं’ उनले भने ।

दसैँमा पनि विराटनगरमै रहने

हिक्मतकुमार कार्की, मुख्यमन्त्री

मुख्यमन्त्र हिक्मतकुमार कार्कीको घर झापाको गौरादह नगरपालिका हो । मुख्यमन्त्री भएको कारण दसैँमा पनि अधिकांश समय विराटनगरमा रहने उनले बताएका छन् । ‘अहिले म विराटनगरमै छु । मुख्यमन्त्री भएका नाताले पनि अलिअलि काम पर्छ’ उनले भने, ‘भेटघाट पनि भइरहन्छ । घर विराटनगरबाट नजिकै झापा भएकाले आउने जाने भइरहन्छ ।’ बिहीबारबाट दैनिक झापा घर जाने र आउने गर्ने उनले बताएका छन् ।

मुख्यमन्त्रीले घरमा ९० वर्षीया आमाको हातबाट टिका लगाउँछन् । ‘मेरी आमा हुनुहुन्छ ९० वर्षको हुनुहुन्छ, उहाँकै हातबाट टिका लगाउन जाने योजना छ’ उनले भने । दसैँका अधिकांश दिनहरुमा दिउँसो झापामा हुन्छ र बेलुकाको बास विराटनगरमा हुने उनले बताएका छन् ।
दसैँमा नेपालीको महत्वपूर्ण सांस्कृतिक पर्व भएकोले यो पर्वको उपलक्षमा बस्ने, खाने, पिउने, खेल्ने, रमाइलो गर्ने, इष्टमित्र तथा साथिभाइहरुसँग भेटघाट गर्ने मुख्यमन्त्रीले बताएका छन् । टिकाको दिन आमाको हातको टिका लगाउने र त्यसपछि अन्य मान्यजनबाट टिका लगाएर आशिर्वाद लिएछि छोराछोरीहरुलाई टिका लगाइदिने उनले बताए ।

हर्षित हुने खुशी हुने त्यस्तो अवस्था छैन

अम्बरबहादुर विष्ट, सभामुख,

झापा घर भएका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टलाई पनि हर्षसाथ दसैँ मनाउने र उत्सव मनाउने अवस्था नरहेको लागेको छ । ‘वर्षदिनको चाँड हर्ष, उल्लासका साथ आउँछ नै तर पछिल्लो घटनाक्रमले हर्षित हुने खुशी हुने त्यस्तो अवस्था छैन’ उनले भने, ‘त्यसैले यसपालिको दसैँमा मेरो केही योजना छैन ।’

देशमा बाढी पहिरोले धनजनको क्षति भएको छ र धेरैले परिवार गुमाएको शोकको अवस्थामा अन्यले पनि धेरै रमाइलो गर्न नहुने विष्टको सुझाब छ । दसैँ विदामा सामान्य रुपमा घरमा परिवारको साथमा पुजापाठ गर्ने, साथिभाई भेट्ने, बाढी पीडित भएको ठाँउमा र आफ्नो निर्वाचन क्षेत्रमा जाने उहाँहरुसँग भेट्ने योजना उनले बताएका छन् । पर्वको खुसी भएपनि धेरै उत्साही हुने अवस्था नरहेकोले अरु त्यस्तो खासै योजना नबनाएको उनले बताए ।

यसपालिको दसैँँ भोजपुरमा

राजेन्द्रकुमार राई, पूर्वमुख्यमन्त्री, नेता (नेकपा एकीकृत समाजवादी)

भोजपुर घर भएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई दसैँमा भोजपुर नै जाने योजनामा छन् । ‘मेरो यसपालिको दसैँँ भोजपुरमा नै हुन्छ । बुबा हुनुहुन्छ, उहाँको साथमा दसैँँ मनाउने योजनामा छु’ उनले भने, ‘म सँधै दसैँँ तिहार गाँउमा नै मनाउदै आइरहेको छु । एउटा दसैँ चाहीं मैले गाउँमा मनाउन पाइन । त्यसपछि यता म गाउँ नै पुग्छु ।’

मिश्रित समुदायमा हुर्किएकाले सबै समुदायको भावना र मर्मलाई समेट्दै दसैँ मनाउने योजनामा रहेको राईले सुनाए । बाढी र पहिरोको कारण थुप्रै परिवार समस्यामा रहेकाले त्यसयसलाई मध्यनजर गर्दै धेरै रमाइलो गर्न अवस्था नरहेको उनी बताउँछन् । गाउँघरमा विविध खेलकुदका कार्यक्रम आयोजना गरिएकोले त्यहाँ सहभागिता जनाउने उनको योजना छ ।

धेरै उत्साह मलाई हुँदैन

केदार कार्की, पूर्वमुख्यमन्त्री

विराटनगर नजिकैको बुढिगंगा घर भएका पूर्वमुख्यमन्त्री केदार कार्की हरेक चाँडपर्व सामान्य हिसाबले नै मनाउँदै आएको बताउँछन् । ‘अन्य समयमा पनि चाडपर्व भनेर धेरै उत्साह मलाई हुँदैन’ उनले भने, ‘त्यसमा पनि यो वर्ष त देश शोकमा डुबेको छ, ठूलो मानवीय क्षति भएको अवस्थाले हर्ष मनाउने स्थिति छैन ।’

अहिले पनि कतिपय यात्रु बाटोमा अलपत्र परेको र बाढी पहिरोले जनता रोइरहेको बेला कुनै तडकभडक नगरी मान्यजनको आर्शिवाद थाप्दै सामान्य रुपमा साथीभाई भेटघाट र निर्वाचन क्षेत्रमा मतदाता भेटघाट तथा पारिवारिक भेटघाट गरेर दसैँ मनाउने योजना रहेको उनले सुनाए ।

सँधैजस्तै परिवारसँगको भेटघाट हुने

उद्धव थापा, पूर्वमुख्यमन्त्री, नेता (नेपाली काँग्रेस)

झापा घर भएका नेपाली काँग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धब थापा मान्यजनहरुको हातबाट दसैँको टिका, प्रसाद ग्रहण गरेर मनाउँदै आएकोमा त्यसलाई निरन्तरता दिने तयारीमा छन् । तर, देशमा आएको विपद्को कारण रमाइलो गर्ने अवस्था नरहेकोले धेरै खुसी र उत्साही नभएको उनले बताए ।

‘सँधै जस्तै नै परिवारसँगको भेटघाट मान्यजनको आर्शिवादका साथ नै दसैँँको सुरुवात हुन्छ’ उनले भने, ‘तर, यो वर्ष बाढी र पहिरोले निम्त्याएको समस्याले देश शोकमा डुबेको छ । यसपालिको दसैँँ सँधैको जस्तै मनाउने भनेता पनि रमाइलो ढंगले मनाउने अवस्था छैन ।’ रितिरिवाज र परम्परा धन्ने हिसाबले मात्र दसैँँ मान्ने योजना रहेको उनले सुनाए ।

शुभकामना आदनप्रदान गर्ने

ईन्द्रबहादुर आङ्बो, पुर्वमन्त्री, नेता (नेकपा माओवादी केन्द्र)

पाँचथर घर भएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अन्य समयमा धेरैजस्तो ब्यस्त हुने भएकाले दसैँलाई पारिवारिक भेटघाटको अवसरको रुपमा लिने गरेका छन् । ‘सम्भव भएसम्म भौतिकरुपमा नभए सामाजिक सन्जाल, फोन एसएमएसबाट आफ्नो जिल्लाका नागरिकहरु मतदाता, पार्टी नेता कार्यकर्तासँग शुभकामना आदनप्रदान गर्ने पनि उनको योजना छ ।

‘अहिलेको प्राकृतिक बिपद्ले पाँचथर असाध्यै पीडामा रहेकोले जनप्रतिनिधि भएको नाताले पीडितको घाउमा मल्हम लगाउन प्रयास गर्नेछु’ उनले भने, ‘विगतमा दसैं तिहार(बलिहाङ तङ्नाम) छठ, चासोक तङ्नामलगायत पर्वमा शुभकामना आदनप्रसाद हुने गरेकोमा यो वर्ष विपद्को कारण त्यस्ता सबै कार्यक्रम रोकिएको छ ।’ जिल्लामा उत्पन्न संकट ब्यवस्थापन, उद्धार राहत र पुनःनिर्माणको पहलसहित दसैँमा पीडित जनताको बिचमा रहनेछु उनले बताए ।

रातो टिका नलगाउने

निर्मला लिम्बू, नेता, जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीका सांसद एवं पूर्वमन्त्री निर्मला लिम्बूको परिवारले पनि हरेक वर्ष दसैँ मनाउँदै आएको छ । तर, रातो टिका भने उनीहरु लगाउँदैनन् ।

‘हामी दसैँ मनाउँछौं । तर, रातो टिका लगाउँदैनौं’ लिम्बूले भनिन्, ‘आशिर्वाद लिने काम त जहिले पनि भइहाल्छ’ उनले भनिन्, ‘दसैँमा पनि मान्यजनहरुबाट आशिर्वाद लिने काम हुन्छ । आफूभन्दा ठुला बुबाआमा र हजुरवाको हातबाट आशिर्वाद लिन्छौं ।’ रातो टिका नलगाउने उनको परिवारमा परम्परा अनुसार सेतो टिका लगाउने गरिएको छ ।

माइततिरको बुबाआमा झापातिर नै बस्नने भएकोले दसैँमा झापामा नै रहने लिम्बूले जानकारी दिएकी छन् । तडकभडक गरेर दशौं मनाउने पक्षमा नरहेको बताउँदै उनले आफन्तहरुसँग भेटघट र आशिर्वाद लिने तथा साथीभाइहरुसँग पनि भेटघाट गर्ने बताएकी छन् । राजनीतिक रुपमा पनि भेटघाट हुने उनले बताएका छन् । मठमन्दिरमा काटमार गरेर बली नचढाउने बताउँदै उनले मासु प्रसादका रुपमा नभएर तरकारीका रुपमा मात्र खाने बताए ।

शुक्रबार, २५ असोज, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर