डाइभर्सन बनेपछि मेची राजमार्गको हेंवा खोलाबाट चल्न थाले गाडी

विराटनगर । मेची राजमार्ग अन्तर्गतको हेंवा खोलामा १४ दिनपछि यातायतका साधन सञ्चालन भएका छन् ।

असोज १२ गते गएको बाढीले बेलिब्रिज बगाएपछि यातायातका साधन सञ्चालन रोकिएकोमा ह्युमपाइप राखेर डाइभर्सन निर्माण भएपछि बुधबार विहानबाट सवारी र ढुवानीका साधन वारपार गर्न थालेका हुन् ।

सडक डिभिजन इलामले १० दिन लगाएर डाइभर्सन बनाएसँगै बिहानदेखि मेची राजमार्गको फिदिमबाट हेंवा खोला पारीका पाँचथरस्थित फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जाने र त्यसतर्फबाट पाँचथर, इलाम हुँदै झापातर्फ जाने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ जान थालेका हुन् । पैदल यात्री र मोटरसाइकलको सहजताका लागि भने नेपाली सेनाको अगुवाईमा असोज १८ गते बाँसको फड्के निर्माण गरेर आवतजावत सुचारु गरिएको थियो ।

डाइभर्सनको काम तीन दिन अघि नै सक्ने गरी काम गरेपनि इष्टिमेटभन्दा थोरै मात्रामा हृयुम पाइप आएकोले काममा ढिलाइ भएको थियो । पुनः इटहरीबाट थप ह्युमपाइप ल्याएर डाइभर्सन निर्माण गरेको सडक डिभिजन इलामले जनाएको छ ।

डाइभर्सन बन्नासाथ सयभन्दा धेरै साधन वारपार भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । यसअघि तीन दिन अगाडि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेवा खोलाको पुल मर्मत गरेर आवतजावत सुचारु गरेको स्टाटस लेखेपछि उनको चौतफी आलोचना भएको थियो । उनले स्टाटस चार पटक सम्पादन गरेका थिए ।

बुधबार, २३ असोज, २०८१, दिउँसोको ०१:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर