पत्नीबाट पीडित सहनी भन्छन्, ‘पहिले ममाथि अहिले बुवामाथि बलात्कार आरोप लगाइन्’

विराटनगर । पत्नीबाट बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा बसेर निस्किएपछि अन्याय महशुस गरेका एक युवाले पत्नीका कारण पूरै परिवार नै पीडित बनेको भन्दै न्यायका लागि सहयोग मागेका छन् । उनले विराटनगरमा पत्रकार सम्मेलन नै गरेर आफू र आफ्नो परिवार पत्नीबाट पीडित हुनुपरिरहेको बताएका हुन् । यौनजन्य हिंसा गरेको आरोप पहिलो आफूमाथि र अहिले बुवा (ससुरा)माथि लगाउँदै हिड्न थालेका कारण आफूहरु अन्यायमा परेको र सामाजिक रुपमा बद्नामी बढेको भन्दै उनले सहयोगको याचना गरेका हुन् । उनले पत्नीको व्यवहारबाट हैरानी झेल्नु परेको टिप्पणी गरे ।

विराटनगर ११ पीचरा निवासी संजय सहनीलाई उनकी पत्नी राधा चौधरीले २०८० फागुन ७ गते वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन् । चौधरीको मुद्दामा अनुसन्धान गर्न प्रहरीले सहनीलाई पक्राउ गरी २५ दिन हिरासतमा राखेको थियो । पछि पत्नीले नै अदालतमा बयान फेरेपछि अदालतले सहनीलाई निर्दोष ठहर गरेको थियो । त्यसपछि उनीहरुबीच मिलेर बस्ने समझदारी बनेको र केही समय मिलेरै बसेको पत्रकार सम्मेलनमा सहनीले बताए ।

परपुरुषसँग रातभर फोनमा कुरा गर्ने, मेसेज गर्ने पत्नीको बानीबाट आफूलाई तनाव हुने गरेको र त्यसो नगर्न भन्दा निहुँ खोज्दै झगडा गर्ने र फेरि मुद्दा हालिदिन्छु भन्दै धम्क्याउने गरेको उनले बताए । त्यसै क्रममा पत्नी चौधरीले सासु पवित्री मुखियाविरुद्ध कुटपिटको मुद्दा दर्ता गरेकी थिइन् । अहिले उनी ससुराले यौन दुव्र्यवहार गरेको भन्दै अर्को उजुरी लिएर प्रहरी कार्यालय धाइरहेको र त्यसबाट आफूहरुले अनावश्यक तनाव सहनु परेको उनले बताए । तर यसपटक भने प्रहरीले राधिकाले दर्ता गर्न खोजेको उजुरी लिन मानेको छैन । उनले भने ‘बिचौलीयाहरु लगाएर प्रहरीमा मुद्दा दर्ता गर्न दबाब दिइरहेका छन् अनि मलाई पनि विभिन्न व्यक्ति लगाएर पैसा लेनदेनबाट मुद्दा मिलाऔं भनेर प्रस्ताव गरिरहेका छन्, यो सरासर दुःख दिने नियतबाट भइरहेको छ ।’ बिचौलीयाहरुले सम्बन्ध विच्छेदको वातावरण बनाइदिने भन्दै कसैले १० लाख त कसैले २१ लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव ल्याएर दुःख दिइरहेको सहनीले बताए ।

सहनी र चौधरीबिच २०८० साल असार १३ गते मागी भएको थियो । विवाह गरेर घर आएको दोस्रो दिन नै आफू गर्भवती रहेको र दाइको जबरजस्तीले विवाह गरेको भन्दै ८ दिनपछि उनी माइती फर्किएकी सहनीले बताए । सहनीले पुरानो कुरामा विवाद नगरी घर फर्कन ससुरालीमै गएर अनुरोध गरेका थिए । तर त्यसपछि पनि निरन्तर विवाद भइरहेपछि समाज बसेर सम्बन्ध विच्छेद गर्न आग्रह गरेको तर पत्नीले नमानी वैवाहिक बलात्कारको झुटो मुद्दा दर्ता गरेको उनले बताए ।

सोमबार विराटनगरमा सहनीकी पत्नी राधाले आफूमाथि हिंसा भएको भन्दै पत्रकार सम्मेलन गर्न सूचना पठाएकी थिइन् । तर उनले पत्रकार सम्मेलन गरिनन् । मंगलबार टेलिफोन सम्पर्कमा आएकी राधाले पतिले आफूलाई बेवास्ता गरेको, राति जबरजस्ती गर्ने गरेको, सासुले पनि कुटपिट गर्ने गरेको, ससुराले पनि यौन दुव्र्यवहार गर्ने गरेकोले मुद्दा दर्ता गर्नुपरेको प्रतिक्रिया दिएकी छन् । तर उनको पछिल्लो दावीमा प्रहरी पनि विश्वस्त हुन सकेको छैन । पहिले आफैंले लगाएको आरोपविपरीत हुनेगरी बयान फेरेका कारण प्रहरीले राधाको आरोपमा विश्वास नगरेको हो ।

बुधबार, २३ असोज, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर