एमाले केन्द्रीय सदस्य शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर

विराटनगर । ताप्लेजुङ घर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह कसुरमा दोषी ठहर भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।

उच्च अदालतले बहुविवाह गरेको कसुरमा शेर्पालाई १ वर्ष जेल सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उच्चले जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते गरेको फैसला सदर गरेको हो ।

शेर्पाकी पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो ।

खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो ।

शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको छ । उनले आफूले श्रीमती भएको थाहा पाएर विवाह नगरेको बयान दिएपछि सफाइ दिएको हो ।

शेर्पाकी जेठी श्रीमती करिश्मा खरेलबाट छोरी प्रेरणा शेर्पा र छोरा प्रतीक शेर्पा छन् । कान्छी श्रीमती पूजा परियारतर्फबाट छोरी पेमा डोमा शेर्पा र छोरा छिरिङ शेर्पा छन् ।

खरेलले शेर्पा र परियारबीच भएको विवाह बदर गर्न माग गरेको भए पनि जिल्ला अदालतले बदर गर्न भने अस्वीकार गरेको छ । पासाङ शेर्पा र पूजा परियारबीच भएको विवाह मुलुकी अपराध संहिता, २०७४ लागु हुनु अगाडिको भएको भएकोले विवाह बदर नहुने अदालतको ठहर छ । उच्च अदालत पाटनले पनि जिल्लाको फैसलालाई नै सदरले विवाह बदर गर्न अस्वीकार गरेको हो ।

संविधानसभाका सदस्यसमेत रहेका आदीवासी जनजाति महासंघका पूर्वमहासचिव शेर्पाले आफूलाई जबरजस्ती अलग राखेको र खर्चसमेत नदिई मानसिक तनावमा राखेको, दोस्रो दर्जाको रुपमा व्यवहार गरेको भन्दै खरेलले मुद्दा दायर गरेकी थिइन् ।

 

मङ्गलबार, २२ असोज, २०८१, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर