विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको भेरिफाइट फेसबुक बेजमा आइतबार साँझ ९ः५० मा एक स्टाटस लेखियो । बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवत जावत सञ्चालन गरिएको जानकारी स्टाटसमा थियो । स्टाटससँगै उनले बिपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको जानकारी दिँदै पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानलाई धन्यवाद दिएका थिए ।
‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको छ भने बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरुलाई धन्यवाद !,’ उनको स्टाटसमा भनिएको छ ।
असोज १२ गतेको बाढीले बेलिब्रिज बगाएपछि यातायात अबरुद्ध भएको सो क्षेत्रमा बाँसको फड्के मात्र बनेको थियो । ह्युमपाइप लगाएर डाइभर्सन गरी सडक खुलाउने प्रयास भएपनि काम सकिएको छैन । तर, प्रधानमन्त्रीले पुल मर्मत गरेर आवतजावत सुचारु गरेको लेखेपछि उनको चौतर्फी आलोचना भयो ।
पाँचथर र ताप्लेजुङका स्थानीयले प्रधानमन्त्रीको सूचना स्रोत र स्टाटसको विश्वसनीयतामाथि प्रश्न उठाउँदै गलत प्रचार नगर्न कमेन्ट गरे । धेरैले उनलाई हावादारी प्रचार नगर्न सुझाब दिएका थिए । कतिपयले भने एमाले नेतृत्वको सरकार भएकोले छिट्टै काम भएको भन्दै हुँदै नभएको काममा प्रधानमन्त्रीको गुणगान गर्न पनि भ्याएका थिए ।
पाँचथरका व्यवसायी एवं नेपाली काँग्रेसका नेता दिपक नेपालले देशको प्रधानमन्त्रसम्म सहि सुचना पुग्दैन भन्ने प्रमाण हो भन्दै डुबाउनेहरु नजिकका हुन्छन् भनेर प्रधानमन्त्रीलाई व्यंग्य कसे । ‘देशको प्रधानमन्त्रीसम्म सही सूचना पुग्दैन भन्ने सबै भन्दा गतिलो प्रमाण । काका, डुबाउने नजिककाहरुले नै हो हैं । पुल बगाई गयो’ उनले लेखे, ‘पुल भए पो मर्मत गर्नु ? बासको फड्के बनाएर आवत जावत सम्म हुँदैछ । हैट ।’
पत्रकार खविन लुईटेलले मुलुकको प्रधानमन्त्रीलाई गलत सूचना दिने र पोष्ट्याउन लगाउनेहरु रहेको भन्दै अरुको हालत के होला भन्ने प्रश्न गरे । उनले लेखे, ‘मुलुकको प्रधानमन्त्री जस्तो मान्छेलाई त गलत सुचना दिने र पोष्ट्याउन लगाउनेहरू छन् । अरूको के हालत होला ? सचिवालयले यस्को जिम्मेवारी लिन पर्छ कि पर्दैन ?’
चौतर्फी आलोचना भएपछि स्टाटस लेखेको ११ मिनेटपछि प्रधानमन्त्रीले त्यसमा सम्पादन गरे । पुरानो स्टाटस सच्याउँदै ‘हेवा खोलाको पुल मर्मत गरी आवतजावत सञ्चालन’ गरिएको उल्लेख गरे । उनको त्यो लेखाइ पनि गलत थियो । किनकि हेवाखोलमा बाढीले पुलको नामोनिसान नै नरहनेगरी बढाएकोले मर्मत गरेर सञ्चालन हुने संभावना नै दिएन ।
प्रधानमन्त्रले २३ मिनेटपछि फेरि स्टाटस सच्याए । जसमा उनले ‘पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको’ उल्लेख गरे । उनको स्टाटसमाथिको आलोचना रोकिएको थिएन । तेस्रो पटक पनि प्रधानमन्त्रीले गलत जानकारी दिएका थिए ।
त्यसको ५ मिनेटपछि फेरि स्टाटस पनि सच्याउँदै ओलीले लेखे, ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा फड्के बिछ्याउने काम र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरुलाई धन्यवाद !’ ओलीले चौथो पटक लेखेको स्टाटस भने सहि थियो । हेवा खोलामा फड्के मात्र बनेको थियो ।
प्रधानमन्त्री ओलीले लेखेको र स्टाटस सच्याएको विषयलाई पाँचथरवासी नागरिकले आलोचना गरेका थिए । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता रहेका पाँचथरकै प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले ओलीको स्टाटसको स्क्रिनसर्ट राख्दै फेसबुकमै आलोचना बर्साए, ‘प्रधानमन्त्री ज्यूलाई यसरी कसले गलत सुचना दिन्छ … ? हेवा खोलामा बेलिब्रिज मर्मत गरेर सवारी साधन सञ्चालन गरिएको होइन फड्के मात्र बनेको हो । बेलिब्रिज राख्न त महिनौं लाग्छ । बगाइसकेको बेलिब्रिजको मर्मत हुने कुरै भएन ।
हेवा खोलामा ह्युम पाइप राखेर भोलिबाट यातायात सञ्चालन हुने अपेक्षा राखिएको छ । प्रधानमन्त्रीलाई गलत सुचना दिनु र गरिमामय ठाउँमा बसेको मान्छेले यसरी गलत सुचना प्रवाह गर्नु दुबै गलत हो…।’
आङ्बो मात्र नभएर धेरैले ओलीको स्टाटसको स्क्रिनसर्ट राखेर उनको सूचनास्रोत र लेखनको विश्वसनीयतामाथि प्रश्न उठाइरहेका छन् । आफ्नो स्टाटस प्रधानमन्त्रीले सच्याएको भएपनि पहिले गलत जानकारी दिएकोमा उनले कुनै स्वीकारोक्ति गरेका छैनन् । त्यसले पनि उनीमाथि आलोचना बढेको हो ।
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज बगाएको थियो । गत वर्ष २०८० असारमा आएको बाढीले सो राजमार्गको सडक पुल नै बगाएको थियो । त्यसपछि राखिएको बेलिब्रिज पनि यसपालि बाढीले बगाएपछि ताप्लेजुङ र पाँचथरको सम्पर्क विच्छेद छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार हेवा खोलामा अहिले मानिसको आवतजावत र मोटराईकल सञ्चालन हुनेगरि फड्के निर्माण भएको छ । बेलिब्रिज बगाएको ठाउँमा साना चारपाङ्ग्रे सवारी साधन आवत–जावत गर्नसक्ने डाइभर्सन निर्माणको लागि युद्धस्तरमा काम भइरहेको उनले जानकारी दिएका छन् ।
‘अबको २४ घण्टामा ह्युमपाइप राखेर साना गाडी सञ्चालन हुनसक्ने डाइभर्सन बनाइसक्छौं,’ उनले भने, ‘अहिले म हेवा खोलामै छु । यसअघि १६ वटा ह्युमपाइप मगाएकोमा अहिले थप मगाइएको छ । १२० एमएमका १० वटा, १६ वटा साना र ९० एमएमको तीन गाडीमा ह्युम पाइप आउँदैछ ।’ ह्युमपाइप आएपछि साना गाडी आवत जावत हुन थाल्ने उनले जानकारी दिए ।
हेवा खेलाबाट साना गाडी सञ्चालन गरिने र तमोर करिडोरको माझीटारबाट ठूला गाडी तार्नसक्ने गरी काम सुरु गर्ने प्रजिअ कोइरालाले बताएका छन् । पुल बगेलगत्तै जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेका विपद् व्यवस्थापन समिति र सर्वदलीय बैठकले हेवा खोला डाइर्सन गरेर दसैँ अगावै खाद्यान्नसहितका अत्यावश्यस्यक वस्तु ताप्लेजुङ पु¥याउने वातावरण मिलाउने निर्णय गरेको थियो ।