लोड हुँदैछ...

मेनु

समाचार प्रभाव : डा.सिंहले गरेको ७ कर्मचारीको नियुक्ति रद्द

समाचार प्रभाव :  डा.सिंहले गरेको ७ कर्मचारीको नियुक्ति रद्द

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ड (मेसु) बाट पदमुक्त भएपछि डा. रविनराज सिंहले जथाभावी गरेको कर्मचारी नियुक्ति रद्द भएको छ ।

हाम्रोमतले कोशी अस्पतालको मेसुबाट पदमुक्त भएपछि डा.सिंहले ७ जना कर्मचारीको ठाडो नियुक्ति गरेकोसहित अस्पतालको बेथितिबारेमा समाचार प्रकाशन गरेपछि नयाँ मेसु डा. रुना झाले शुक्रबार सबै नियुक्ति रद्द गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार गत असोज ६ गते कोशी अस्पतालको मेसुबाट पदमुक्त भएका सिंहले असोज १० गते ७ जना कर्मचारी नियुक्त गरेका थिए । उनले सुनसरीको रामधुनी नगरपालिका ५ कि रामकुमारी चौलागाईंलाई खरिदार तहमा, पाँचौ तहको कम्प्युटर अपरेटर रहेका विनोद राजभरलाई आठौं तहको आईटी इञ्जिनियरमा, पाँचौं तहकै ज्यालादारीमा रहेका ओभरसियर सुभाषकुमार कर्णलाई सातौं तहको इञ्जिनियरमा नियुक्त गरेका थिए । यस्तै सुनिल यादवलाई अहेबमा र अन्यलाई कार्यालय सहयोगी नियुक्त गरेका थिए ।

नियुक्त गरिएकामध्ये चौलागाई, राजभार र कर्णको मात्रै नियुक्ति पत्र अस्पताल प्रशासनमा भेटिएको छ । अन्यको भने नियुक्ति गरेको पत्रसमेत अस्पताल प्रशासनमा छैन । नियुक्तिको लागि कुनै टिप्पणीसमेत उठेको थिए । ‘जथाभावी रुपमा दिएको नियुक्ति पत्र मैले रद्द गरेको छु’ मेसु डा.झाले भनिन्, ‘अब स्वीकृत भएको दरबन्दी अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर मात्रै आवश्यकताको आधारमा कर्मचारी नियुक्ति हुनेछ ।’

सिंहले २०८१ असोज १० गतेको मितिबाट एक महिनाको लागि उनीहरुलाई नियुक्ति दिएका थिए । कोशी अस्पतालमा सुरुमा एक महिनाको नियुक्ति दिने र त्यसपछि विकास समितिले म्याद थप्दै करारलाई निरन्तरता दिने गरेको छ । जसले गर्दा अस्पताल विकास समिति र मेसुको भर्तीकेन्द्र बनेको छ ।

मेसुबाट हटिसकेपछि नयाँ मेसुको पदबहाली नभएको अबधिमा डा.सिंहले अस्पताल विकास समितिका पदाधिकारीको मिलेमतोमा कर्मचारी नियुक्ति, करोडौंको बिल भुक्तानी र आफू तथा लेखा अधिकृतले गैरकानुनी रुपमा घरभाडा लिने निर्णय गरेका थिए । त्यसबारेमा समाचार प्रकाशित भएपछि लेखा अधिकृतले घरभाडा वापतको चेक भने नलिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।