आफ्नै सरकारलाई एमाले–काँग्रेसको पालैपालो ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेशमा अहिले नेकपा एमालेको नेतृत्वमा नेपाली काँग्रेससमेत सहभागी रहेको सरकार छ । संघीय सरकारदेखि सबै प्रदेशमा ठूला दुई दलको सरकार बन्दा कोशीमा भने दुईतिहाई बढि मतसहितको सरकार छ ।

मुलुकका समस्या समाधान गर्न र जनताको अपेक्षा पुरा गर्न भन्दै बनेको सरकार पछिल्लो बाढी पहिरोको उद्धार र राहतमा अक्षम भएको भन्दै आलोचना भइहरेको छ । ठूला दल मिलेर बनेको सरकारले नागरिकको आवाज नसुनेको र पीडा नदेखेको भन्दै आलोचना भइरहँदा काँग्रेस र एमालेकै नेतारु सरकारको कामदेखि सन्तुष्ट देखिएका छैनन् ।

सायद त्यसकै उदाहरण हो नेकपा एमाले कोशी र नेपाली काँग्रेस कोशीले पालैपालो सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । आफ्नै पार्टी नेतृत्वको र आफूसमेत सहभागी सरकारलाई पार्टीले निर्णय गरेर जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिनुपर्ने हो । तर, काँग्रेस र एमालेका प्रदेशस्तरीय नेताहरु पालैपालो मुख्यमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै फोटो सार्वजनिक गरिरहेका छन् ।

कांग्रेस र एमालेले बुझाएको ज्ञापनपत्रमा समान प्रतृकतिको माग छ । मृतकका परिवारलाई राहत, प्रभावितलाई क्षतिपूर्ति र बाढी पहिरोका कारण अवरुद्ध सडक खुलाउनुपर्ने मुख्य विषय उनीहरुले उठाएका छन् । जुन अहिलेको प्रमुख आवश्यकता पनि हो ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई शनिबार एमालेले ज्ञापन पत्र बुझाएको थियो भने आइतबार नेपाली कांग्रेसले ज्ञापनपत्र बुझाएको हो । आफ्नै मुख्यमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएको विषयलाई सामाजिक सञ्जालमा ‘काम गर्न नसक्नेहरुको रमिता’ भन्दै आलोचना पनि भइरहेको छ ।

कार्कीलाई ज्ञापनपत्र बुझाउन एमाले स्थायी समिति सदस्यसमेत रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई आफैं पुगेका थिए । उनी मुख्यमन्त्री हुँदा अहिलेका मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । पार्टीको जिम्मेवारी र ओहोदामा राई कार्कीभन्दा सिनियर नेता हुन् । प्रदेशको इञ्चार्ज पनि भएकोले उनले पार्टीको बैठक राखेर मुख्मन्त्रीलाई त्यहि बोलाएर आवश्यक निर्देशन दिनसक्छन् । तर, उनी दलबलसहित सार्वजनिक विदाको दिन मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाई फोटो खिचेर फर्किए ।
सत्ताघटक अर्को दल नेपाली काँग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका उद्धब थापा आइतबार दलबलसहित मुख्यमन्त्री कार्यालय पुगे । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापा नेतृत्वको टोलीले पनि मृतकलाई राहत, प्रभावितलाई तत्काल क्षतिपूर्ति र अवरुद्ध यातायात खुलाउन माग गर्दै ज्ञापनपत्र बुझायो ।

दुबै पार्टीले ज्ञापनपत्र बुझाउँदा मुख्यमन्त्रीको कार्यकक्षमा अन्य मन्त्रीहरु पनि उपस्थित थिए । प्रदेश सरकारले गत आइतबार नै प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । ज्ञानपन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सो जानकारी दिए ।

गत १०–१२ असोजसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् ।

सोमबार, २१ असोज, २०८१, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर