बाढी पहिरोले कोशीमा ४ अर्ब बढीको क्षति

विराटनगर । कोशी प्रदेशमा बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति भएको प्रदेश सरकारले जनाएको छ ।आइतबार पत्रकार सम्मेलन गरि भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले बाढी पहिरोबाट प्रदेशको पूर्वाधारमा भएको क्षतिको विवरण सार्वजनिक गरेका हुन् ।

असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्री राईले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपैयाँ बजेट लाग्ने बताउँदै उनले पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्न ३ अर्ब ६१ करोड रुपैयाँ लाग्ने जानकारी दिए ।

आंशिक क्षति पुगेको पूर्वाधारलाई तत्कालै मर्मत गरी सञ्चालनको तयारी भइरहेको मन्त्री राईले बताएका छन् । प्रदेशमा ६० वटा सडक, १५ वटा सडक पुल, १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको उनले बताए ।

उदयपुर र खोटाङ जोड्ने पक्की पुल बगाएपछि वैकल्पिक व्यवस्था गरिएको र इलाममा भासिएर मर्मतमा समस्या भएको सडकको विकल्पबाट आवत–जावतको व्यवस्था मिलाउने काम भइरहेको मन्त्री राईले जानकारी दिएका छन् । चाडवाड मान्नका लागि प्रदेशका कुनै पनि जिल्लाका बासिन्दालाई आवत–जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ ।

आइतबार, २० असोज, २०८१, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर