प्रहरी निरीक्षक शाही जोडिएको असुलीमा संलग्न इटहरीकी थापा पक्राउ

इटहरी । ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ ।

इटहरीकी भिमादेवी थापा गत बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो । बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको खुलेको थियो । घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई उपत्यका प्रहरीले जिम्मेवारविहीन बनाएको छ । घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको छ ।

डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए ।
केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाएकोमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ भएपछि युवतीले ६० लाख रुपैयाँ मागेकी थिइन् । पछि ३० लाख रुपैयाँमा सहमति भएपछि ती व्यापारीले फस्नसक्ने डरले पैसा बुझाएको देखिएको छ ।

ती व्यापारीले २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा गरेको र १० लाखको चेक उनलाई दिएको बताइएको छ । प्रारम्भिक सोधपुछमै घटना हनीट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुई जनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो ।
युवतीले लिएको चेक समेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको छ । घटनाका एक योजनाकार फरार छन् । ती व्यक्तिलाई भगाउन समेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ ।

प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएपछि उनी निलम्बनमा छन् । शाहीले सुरुमा शान्ति सुरक्षासम्बन्धी ठाडो निवेदनका नाममा व्यापारीलाई थुनामा राखेकी थिइन् । पक्राउ गरिएका व्यक्तिको गाडी फिर्ता गर्नसमेत डेढ लाख रुपैयाँ शाहीले लिएको आरोप छ ।
फोटो

आइतबार, २० असोज, २०८१, दिउँसोको ०१:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर