विपद्को पीडा बिर्सेर एमाले विराटनगरको चियापान उत्सव !

विराटनगर । अघिल्लो साता परेको अविरल भारी वर्षाका कारण कोशी प्रदेशमा २४ सहित देशभर २५० जना भन्दा बढीको ज्यान गएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्णय गरेरै तीन दिन राष्ट्रिय शोक मनाएको छ भने पार्टीका सबै आन्तरिक कार्यक्रमहरुलाई स्थगित गरेर उद्दार, राहात र पीडितहरुको सहयोजगमा जुट्न नेकपा एमालेले सार्वजनिक रुपमा अपिल पनि सार्वजनिक गरेको छ ।

पार्टीको उक्त सार्वजनिक अपिललाई बेवास्ता गर्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले आउँदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान आयोजना गरेर उत्सव मनाएको छ ।

नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीले चाडपर्व लक्षित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेलगायत प्रदेशका शीर्ष नेताहरु सहभागी थिए ।

महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै इन्चार्ज राईले एमलो बलियो भएमा मात्र मुलुकले राजनीतिक निकास पाउने बताए । उनले सिंगो पार्टी पङ्ती पार्टी नेतृत्वको रक्षाका लागि लाग्नु पर्नेमा जोड दिए ।

शुभकाना आदानप्रदानमा देश र प्रदेशमा बाढी पहिरोले गरेको क्षतिको विषयमा र जनताले भोगेको पीडाको बारेमा उनीहरुलाई सहयोग र मल्हम लगाउने विषयमा नेताहरुले खासै समय खर्चिएनन् । उनीहरुले कसरी एमालेलाई बलियो बनाउने र विपक्षीहरुले अहिले प्रधानमन्त्रीको विरुद्धमा व्यक्त गरिरहेको धारणाहरुलाई प्रतिवाद गर्न कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने प्रयत्न गरेका थिए ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले कुनै समय जननेता मदन भण्डारीले नेतृत्व गर्नु भएको महानगर कमिटीले पाएको नयाँ नेतृत्वले विराटनगरमा पार्टीलाई सफल बनाउने गरि लाग्न सुझाव दिए । उनले चाडपर्वले सञ्चार गर्ने सकारात्मक उर्जाले महानगर कमिटीले राजनीतिक मात्र नभएर सकारात्मक सामाजिक मुद्दाको उठान गर्न पनि सफल हुनुपर्ने बताए ।

कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आउँदै गरेको चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै महानगर कमिटीले विराटनगरलाई पुनः लालकिल्ला बनाउन निर्देशन गरे ।

एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले छोटो समयमा महानगर कमिटीले देखाएको सक्रियताको प्रशंसा गर्दै कमिटीलाई नेताको पछि नभएर नीतिको पछि लगाउन निर्देशन दिए । उनले महानगरमा देखिएको अन्यौलपूर्ण अवस्था अन्त्य भएर नयाँ समाधान निकालेको टिप्पणी गरे ।

मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले पार्टीको ‘मिसन ८४’ को लक्ष्य पूरा गर्न सम्पूर्ण पार्टी एकजुट भएर लाग्नु पर्ने बताए ।

आइतबार, २० असोज, २०८१, बिहानको ०९:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर