मेची राजमार्गमा रमिते पहिरोको अबरोध अझै हटेन

पाँचथर । पाँचथरको फिदिममा रहेको रमितेको पहिरो पन्छाउन नसक्दा पूर्वी पहाडको लाइफ लाइनको रुपमा रहेको मेची राजमार्ग अझै अवरुद्ध छ ।

फिदिम नगरपालिका २ रमितेमा खसेको पहिरो पन्छाउन प्रयास भइरकेको भएपनि काम नसकिएपछि असोज १२ गतेदेखि यातायात अबरुद्ध छ ।

चाडपर्व नजिकएको बेला राजमार्ग अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङको जनजीवन नराम्ररी प्रभावित भएको छ । माथिबाट लेदो खस्ने क्रम जारी भएकाले पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

दुई दिन अगाडि भित्तो कोट्याएर रोकिएका केही सवारी साधानहरु वारपार गराइएको थियो । तर, सडक सुचारु गरेको केही घण्टामै फेरि पहिरो खसेपछि यातायात छ । भिरालो जमिन चिराचिरा परेकाले लेदोसहितको पहिरो खस्ने क्रम नरोकिएकोले काम गर्न समस्या भएको हो ।

भित्तो बगेर आउने र सडक भासिने समस्या समाधान नहुँदा सडक सुचारु गर्न सकस भएको भट्टराईले बताए । अरुतिरको पहिरो पन्छाइसकेको र रमितेको समस्या समाधान हुने वित्तिकै यातायात सञ्चालन गर्न सकिने अवस्था छ ।

असोज १२ गते आएको बाढीले मोटरेबल पुल बगाएको पाँचथरस्थित हेवा र फेमे खोलामा भने यात्रुको आवतजावतको लागि बाँसको फड्के हालिएको छ । बाढीले हेवा खोलाको बेलिब्रिज र फिदिम फालौट सडक खण्डमा फेमे खोलाको मोटरेबल पक्की पुल एकैदिन बगाएको थियो ।

हेवा खोलामा नेपाली सेनाले फलामका पोल, लट्ठा, ग्याबिन जाली, बाँस र ढुंगा प्रयोग गरेर मोटरसाइकल, स्कुटर र मान्छे तर्न मिल्ने फड्के बनाएको छ । फट्केको लम्बाई १२० मिटर र चौडाई ४ फुटको छ । फड्केबाट बिहीबार साँझदेखि दुईपांग्रे साधनसँगै मानिसको आवागमन खुला गरिएको छ ।

हेवा खोलामा फड्के बनेपछि मेची राजमार्गको फिदिम पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरकसँगै ताप्लेजुङ जाने यात्रुलाई केही सहज भएको छ । फिदिम फालौट सडक खण्डको फेमे खोलामा भने युवाहरुको सक्रियतामा फड्के बनेको हो । फड्केबाट सदरमुकाम फिदिमदेखि नांगीन याङनाम सिदिन हुँदै प्राङबुङ जान सहज भएको छ ।

शुक्रबार, १८ असोज, २०८१, दिउँसोको ०३:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर