विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बल हानेर उद्घाटन गरे ।
जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा शनिबारसम्म प्रतियोगिता हुने भएको आयोजक स्ववियूका सभापति जसवन्त पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ नगद र दोस्रो हुने टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार साथै अन्य आकर्षक उपहारहरु पाउनेछन् ।
मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकाससँगै अनुशासन सिकाउने बताए । खेलका माध्यमबाट आणविक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने उनको भनाइ छ ।