विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ बिहीबारदेखि सुरु भएको छ ।
आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने वडादशैंको पहिलो दिन बिहीबार घटस्थापना हो । आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरियो ।
पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने अर्थात जमरा राख्ने गरिन्छ ।
जमराको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतिक पहेँलो जमरा ग्रहण गरिन्छ ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
यसैबीच मोरङको रंगेली नगरपालिका–७ स्थित सन्सारी माइस्थान मन्दिरमा बिहीबार घटस्थापनाको अवसरमा ११ केजी बीजको जमरा राखिएको छ । पूर्वकै प्रसिद्ध शक्तिपीठको रुपमा रहेको मन्दिरमा प्रादेशिक फूलपाती बढाँईको तयारीसमेत सुरु गरिएको छ ।
फूलपाती बढाइको कार्यक्रम प्रदेश सरकारको उपस्थितिमा हुने गरेको छ । फूलपातीको दिन पहिलो बली मन्दिर व्यवस्थापन समितिले दिएपछि नेपाली सेनासमेत बली दिने गरेको छ ।
घटस्थापनाको दिन गुरुहरुद्वारा ११ किलो विज (जौ, गहुँ, मकै)को जमरा राखेर पूजाको प्रारम्भ भएको छ । दशैंमा नवदुर्गाको विशेष पूजा यस मन्दिरमा गरिन्छ ।
यो मन्दिरमा विशेषतः बली चढाउने प्रथा रहेको छ । भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। यस वर्ष फूलपातीको अवसरमा १० हजार भक्तजन उपस्थित हुने अनुमान समितिले गरेको छ ।