कोशीका ९ जिल्लामा बाढीको जोखिमः सतर्क रहन आह्वान

विराटनगर । कोशी प्रदेशका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।

आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार ठूला नदीहरुमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम छ ।

बिहीबारसम्म कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भएपनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

नेपालका ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने अनुमान छ । नदी किनारमा आज र भोलि सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव भने बढ्ने पूर्वानुमान छ । त्यसैले बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइराख्न महाशाखाले सुझाव दिएको छ ।

पछिल्लो केहि घण्टादेखि सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएकोले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । निरन्तर ठेलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कतिपय स्थानमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

बुधबार, १६ असोज, २०८१, बिहानको ११:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर