स्वास्थ्यका कर्मचारी सरुवा, आपूर्ती केन्द्रमा ११ तहका मण्डल हटाएर १० तहका बस्नेत

विराटनगर ।कोशी प्रदेश सरकारले केहि दिन अगाडि स्वास्थ्यका कर्मचारीको सरुवा गर्दा ११ औं तहको कार्यालय प्रमुखको सरुवा गरेर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा १० औं तहका कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

आपूर्तिको कार्यालय प्रमुख रहेका ११ आंै तहका निर्देशक डा.वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्नेगरी सरुवा गरेर १० औं तहका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

बस्नेत लामो समयदेखि प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत थिए । असोज ८ गते बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका १० र ११ औँ तहका कर्मचारीको सरुवा गर्दा मण्डलको ठाउँमा बस्नेतलाई ल्याएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा आपूर्ती केन्द्र आकर्षक मानिन्छ । प्रदेश सरकार मातहका स्वास्थ्य संस्थाहरुको लागि औषधी र अन्य स्वास्थ्य उपकरण खरिद गर्ने केन्द्रमा सरुवा हुन कर्मचारीहरुले मरिहत्ते गर्ने गरेका छन् । अन्य कार्यालयका कर्मचारीको हरेक वर्ष वा बढिमा २ वर्षमा सरुवा भएपनि स्वाथ्य आपूर्ती केन्द्रम कतिपय कर्मचारीहरु पहुँच र प्रभाबको आधारमा वर्षौदेखि सरुवा नभई बसेको देखिन्छ ।
प्रदेश सरकारले सरुवा निकालेको कार्यालयहरुमध्ये प्रदेश स्वास्थ्य आपूर्तिमा वर्षेनी करोडौं मूल्य बरावरको स्वास्थ्य उपकरणहरुदेखि औषधी, खाद्यान्नको खरिद हुने गर्दछ । खरिदमा सप्लायर्ससँग मिलेर आर्थिक चलखेल गर्न पाइने भएको कारणले यस कार्यालयमा आउन कर्मचारीहरुले ‘लेनदेन’ नै गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रदेश सरकारले सरुवा गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ११ औं तहको निर्देशक रहने दरबन्दी हो । डेढ वर्ष अगाडि संघीय सरकारबाट कामकाज गर्नेगरि मण्डल आपूर्ती केन्द्रमा कार्यालय प्रमुख भएर आएका थिए । अहिले उनलाई जिल्ला अस्पतालमा पठाइएको हो ।
सरकारले सरुवा गरेको एक हप्ता भइसक्दा पनि बस्नेत आपूर्तीमा हाजिर भइसकेका छैनन् । उनी दशै पछाडि मात्रै रमना बुझेर हाजिर हुने तयारीमा छन् । ‘प्रदेश स्वास्थ्य निर्देशनालयको समिक्षाको तयारी भइरहेकोले त्रैमासिक समिक्षा सकिएपछि रमना बुझेर सरुवा भएको कार्यालयमा जाने तयारी गरेको छु,’ उनले भने ।

कोशी प्रदेशमा स्वास्थ्यमा १० औं तहका ६ जना स्वास्थ्यकर्मी छन् । तीन जना जनस्वास्थ्य क्षेत्रका र तीन जना विशेषज्ञ चिकित्सक छन् । जनस्वास्थ्य प्रशासकहरुमा डा. सुरेश मेहता, सागर प्रसाई र ज्ञानबहादुर बस्नेत तथा विशेषज्ञहरुमा सर्जन डा. रामबाबु खडका, छाला रोग विशेषज्ञ डा. केशव ढकाल र रेडियोलोजिष्ट डा.सञ्जय ठाकुर दशौं तहका चिकित्सक हुन् ।

पहिलो बरियतामा मेची प्रादेशिक अस्पतालमा कार्यरत डा. केशव ढकाल रहेका छन् । दोस्रोमा मेची अस्पतालका निमित्त मेसु डा.रामबावु, तेस्रोमा डा. ठाकुर, चौथोमा बस्नेत, पाँचौंमा प्रसाईं र छैठौंमा डा. सुरेश मेहता रहेका छन् ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मेहता यसअघि स्वास्थ्य कार्यालय मोरङको प्रमुख थिए । मन्त्रिपरिषद् बैठकले तीन कर्मचारीको मात्रै सरुवा गरेको हो ।

कोशी प्रदेशमा मन्त्रालयसहित स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ११ औं तहको दरबन्दी छ । प्रदेश सरकार मातहत भने ११ औं तहको स्वास्थ्यका कर्मचारी छैनन् । समायोजन रोजेको ६ वर्षपछि सरकारले अहिले बढुवाको लागि लोकसेवा खुलाएको छ । १० औं तहका कर्मचारीको वृत्ती विकास रोकिने गरी लोकसेवा खुलाएको भन्दै स्वास्थ्यकर्मीहरुले विरोध गरिरहेका छन् ।

प्रदेश निजामती सेवा ऐन र नियमावली विपरित प्रदेश लोक सेवा आयोगले प्राविधिकतर्फ ११ औं तहको पदमा बढुवाको विज्ञापन खुलाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । ३१ भदौंमा प्रदेश लोकसेवा आयोगले गरेको ११ औं तहको ७ जना पदपूर्ति गर्ने सम्बन्धि विज्ञापन प्रदेश निजामती सेवा ऐन र नियमावली विपरित रहेको छ ।

आयोगले स्वास्थ्य क्षेत्रको ११ औं तहमा समूहकृत गरेर बढुवाको लागि विज्ञापन आह्वान गरेकोले १० औं तहमा कार्यरत रहेका ज्ञानबहादुर बस्नेत बाहेक अन्यको बढुवा हुने अवस्था छैन ।

मङ्गलबार, १५ असोज, २०८१, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर