पथरी । पूर्वोत्तर मोरङका पाँचओटा पालिकालाई लक्षित गरेर पथरीबाट सेवा प्रवाह गरिरहेको करदाता सेवा कार्यालय, पथरीले सेवाग्राहीलाई मैत्रीपूर्ण रूपमा चुस्त सेवा दिइरहेको छ ।
कार्यालयमा करसम्बन्धी जानकारी लिन जाँदा कर अधिकृत मनिष भट्टराईसहित सबै कर्मचारीले सौहार्दपूर्णरूपमा परामर्श दिएको सेवाग्राही श्रीखन्न देउजाले बताए । उनले भने–‘अरूतिरका कैयौँ सरकारी कार्यालयका कर्मचारी झर्केको सुन्थेँ तर यो कार्यालयमा जाँदा त सजिलो तरिकाबाट बुझाउनुभयो । त्यसमा पनि केही समस्या भयो भने फोन गर्नु नि भनेर नम्बर पनि दिनुभयो ।’ धेरै भिडभाड पनि नहुने र समयमै सहज तरिकाबाट कार्यसम्पादन हुने परिपाटीले सेवाग्राही बढी लाभान्वित बन्ने गरेका छन् । सकेसम्म सेवाग्राहीको मन बुझाउने गरी कार्यसम्पादन गर्ने गरिएको कर अधिकृत मनिष भट्टराईको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गबाट करिब १५ सय मिटरको दुरीमा स्थापित यस कार्यालयले विशेषतः ग्रामीण क्षेत्रका करदातालाई आफ्नो पायक पर्ने स्थानबाट चुस्त सेवा दिँदै आएको पाइन्छ । कर चुक्ता प्रमाणपत्र लिनकै लागि पहिले विराटचौक हुँदै विराटनगरसम्म पनि जानुपर्ने र एकैदिनमा काम नहुँदाका दुःखपूर्ण विगत सम्झदै सेवाग्राही प्रदेश भिजन प्रालिका सञ्चालक भीमराज अधिकारीले भने– ‘पथरी करदाता सेवा कार्यालयमा सेवा लिन जाँदा चुस्तदुरुस्त रूपमा एकैछिनमा काम भइहाल्यो । नजिकै मात्र होइन, परामर्शपूर्ण सेवा पनि पाइँदो रहेछ ।’
कार्यालयले आफ्नो सेवा क्षेत्रमा पर्ने पथरीशनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाका सेवाग्राहीबाट आवमा २०८०÷०८१ मा लक्ष्यभन्दा १५ प्रतिशत बढी मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन गर्न सफल भएको छ । कार्यालयका सूचना अधिकारी शेखर ओलीका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय राजस्व ७६ प्रतिशत सङ्कलन हुँदा पथरी कार्यालयले ९८ प्रतिशत सङ्कलन गरेको छ । यसमा पनि सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ लक्ष्यको ११५ प्रतिशत सङ्कलन भएको हो । यस्तै आयकर ९१ प्रतिशत र अन्तशुल्क ९७ प्रतिशत सङ्कलन भएको सूचना अधिकारी ओलीले बताए । उक्त आर्थिक वर्षमा कार्यालयले ३३ करोड ५८ लाख ७७ हजार ३ सय २० रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ९८ प्रतिशत पूरा भयो । यो राष्ट्रिय लक्ष्यअनुसारको औसतभन्दा २२ प्रतिशत बढी हो । राष्ट्रिय राजस्व ७६ प्रतिशत सङ्कलन हुँदा यस कार्यालयले ९८ प्रतिशत सङ्कलन गर्न सफल भएको कर अधिकृत भट्टराईले बताए ।
कार्यालयले चालु आर्थिक वर्षमा ३५ करोड १५ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्नका लागि कार्यालयले सबैलाई करसम्बन्धी सचेतना जगाई स्वतःस्फूर्त रूपमा समयमै कर दाखिला गराउन जागरूक गर्ने उद्देश्यले बर्सेनि करदाता लक्षित कार्यक्रम गर्दै आएको छ । गत वर्ष आफ्नो सेवा क्षेत्रमा ८ ओटा कार्यक्रम गर्न सफल भएको कार्यालयले यस आवमा ९ ओटा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । खास गरी उद्योग वाणिज्य सङ्घ र पालिकासँगको समन्वयमा सञ्चालन हुँदै आएकायस्ता कार्यक्रमबाट ग्रामीण क्षेत्रका बढीभन्दा बढी सेवाग्राही लाभान्वित हुने गरेका छन् । यस करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालमा बढोत्तरी गर्ने गरी आवश्यक पहल भइरहेको पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतको बनाइ छ ।