कोशी प्रदेशमा बाढी पहिरोबाट १७ जनाको मृत्यु

विराटनगर । अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ भने केहि बेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबार साँझसम्ममा पाँचथरमा ५ जनाको मृत्यु भएको छ भने सोलुखुम्बुमा ५ जना, धनकुटामा २ जना, उदयपुरमा १ जना, झापामा १ जना र इलाममा १ जनाको मृत्यु भएको छ । यस्तै धनकुटस्थित तमोर नदिमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ ।

बाढी पहिरोमा परेर पाँचथरमा ६ जना, झापामा २ जना र मोरङमा १ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमप्रसाद दाहालले जानकारी दिए ।

धनकुटा नगरपालिका ९ र साँगुरीगढी गाउँपालिका ७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा आइतबार एक महिलाहरुको शव भेटिएको छ । प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन ।

त्यस्तै धनकुटाको चौबीसे गाउँपालिका ४ स्थित फलामेटारमा तमोर नदीमा एक महिलाको शव भेटिएको छ । आइतबार विहान शव भेटिएको हो । घटनास्थलमा तेह्रथुम बसन्तपुरबाट सुरक्षाकर्मी टोली गइरहेको छ । शव छिमेकी जिल्लाबाट बगाएर ल्याएको आशंकामा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् ।

शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको थियो । पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका ७ महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङको पनि पहिरोमा परेर मृत्यु भएको छ । स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा उनीहरुको मृत्यु भएको हो । घटनामा घाइते भएकी ६२ वर्षीया याङजी शेर्पाको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा शनिबार नै पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको थियो । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको पनि मृत्यु भएको हो । यस्तै फिदिम ८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा र फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राईको पनि पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रञ्जनाका छोरा विपिन राईको घाइते अवस्थामा उद्धार गरिएको छ । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै फालेलुङ ५ की ३६ वर्षीया कमला राई, फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमति २१ वर्षीय सरस्वता तुम्बापो पहिरोमा बेपत्ता छन् । प्रहरीका अनुसार उनीहरु फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए ।

धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घरमाथिबाट पहिरो झर्दा पुरेर उनकी तामाङकी ३२ वर्षीया श्रीमती आशा तामाङ र सासूआमा ५० वर्षीया रामकुमारी तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा घाइते भएका छिमेकी २४ वर्षीया मिनमाया तामाङको उपचार भइरहेको प्रहरीले जनाइको छ ।

यसैगरी इलाममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । खोलाले बगाएपछि घाइते अवस्थामा उद्धार गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट हाम फालेका गौरीगञ्ज २ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरियाको शव भेटिएको छ ।

उदयपुरको रौतामाई १ की १५ वर्षीया हिसिला तामाङको शनिबार खोलाले बगाएर मृत्यु भएको छ । उनलाई ओडारे खोलाले बगाउँदा मृत्यु भएको हो ।

झापाकै कचनकवल गाउँपालिका १ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । शनिबार अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । बेपत्ताको खोजी भइहरको प्रहरीले जनाएको छ ।

बाढीमा परेर मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीय डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता छन् । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।

आइतबार, १३ असोज, २०८१, दिउँसोको ०१:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर