कोशीको चिलिया टापुमा फसेका ३४ जनाको उद्धार हुनै सकेन

प्रमुख जिल्ला अधिकारीले भने– हाम्रो प्रयास सफल भएन, हेलिकप्टर आउन सकेन ।

विराटनगर । अविरल वर्षाको कारण सप्तकोशीमा पानीको बहाब बढेको बढ्यै छ । नदीको जलसतह बढेसँगै बराहक्षेत्र ६ र ९ नम्बर वडामा पर्ने कोशी टप्पु क्षेत्रमा फेसेका ३४ जना सर्वसाधरणको उद्धार हुन सकेन । बराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् ।

बराहक्षेत्र ६ ठाकुरीवारी स्थित कोशिको बिच टाप्पुमा भैंसी पालन गरी बस्ने गरेका उनीहरु त्यही अलपत्र परेका हुन् । उनीहरुको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले दिउँसो नै घटनास्थलमा पुगेर उद्धारको प्रयास गरेको थियो । तर, उनीहरुलाई डुंगा र बोटबाट त्यहाँ पुगेर उद्धार गर्न नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि असफल बनेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार त्यहाँ ३४ जना बसेका छन् । उनीहरु बसेको स्थानमा पनि पानीको सतह बढीरहेको छ । ‘अहिलेसम्म उहाँहरु सुरक्षित नै हुनुहन्छ । तर जोखिममा हुनुहुन्छ,’ तिवारीले भने । दिनभर उनीहरुको उद्धारको लागि केन्द्र सरकारसँग समन्वय भइरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको थियो । यद्यपि मौसमको खराबी देखाउँदै हेलिकप्टर त्यस क्षेत्रमा आउनै सकेन ।

सप्तकोशीको पानीको बहाब अहिले साँझ ७ बजे ५ लाख ९० हजार ३८५ क्यूसेक पुगेको छ । पानीको बहाब अझै बढ्दै जाने टे«ण्ड देखिएको प्रमुख जिल्ला अधिकारी तिवारी बताउँछन् । तर, फसेककाहरुको उद्धार गर्न नसक्दा उनीहरु आज रातभर पानीमै डुबेर बस्नुपर्ने अवस्था रहेको तिवारीले बताए । तिवारीका अनुसार उनीहरुसँगै रहका केही पशुचौपाया भने बाढीले बगाइसकेको छ ।

‘उहाँहरुको आज उद्धार गर्न सकिएन । जोखिम मै हुनुहुन्छ । किनभने अहिले पनि उहाँहरु बसेको ठाउँमा पानी छ । अब पानी धेरै बढेन, अप्रत्याशित रुपमा पानीको बहाब घट्दै गयो भने…. सुरक्षित नै रहनु होला,’ तिवारीले भने, ‘उहाँहरु कतिले खाना बनाएर खायौं भनेर खबर गर्नु भएको छ । तर, पानीको सतह उहाँहरु बसेको स्थानमा आइसकेको कारण जोखिम भयो ।’

उनले आज दिउँसो हेलिकप्टर आउन मौसमको कारणले नसकेको भएपनि भोली बिहानै मौसम सफा हुने वित्तिकै आएर उद्धार गर्ने आशा व्यक्त गरे । ‘डुंगा वा बोटबाट नेपाली सेना वा प्रहरी जान सक्ने अवस्था पनि भएन । अब भोली बिहान मौसम खुल्ने वित्तिकै हेलिकप्टर आउने तयारीमा छ काठमाडौंमा । आज राती त्यही बस्नुहुन्छ होला । उहाँहरु सँधै त्यही बस्ने गर्नुभएको हो । तर, जोखिमपूर्ण बसाई भयो,’ तिवारीले भने, ‘उहाँहरु भएको ठाउँमा पानीमै डुबेर बस्नु भएको छ । केही हदसम्म पानी आइसकेको भन्ने छ । अहिलेसम्म पाएको सूचनामा केही पशु चौपायाहरु चाहिँ क्षति भइसकेको भन्ने छ । मान्छे चाहिँ सुरक्षित नै हुनुहुन्छ । अब राती पानी घटेन भने जोखिम बढ्दै जान्छ । अहिलेसम्म त पानी बढ्दो ट्रेण्डमा छ । पहाडमा पनि पानी परिरहेको छ । नापजाँचमा पनि पानीको बहाब बढिरहेकै छ ।’

सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम अझै जारी छ । अहिले भर्खरको मापन अनुसार पानीको बहाब प्रतिसेकेन्ड ५ लाख ९० हजार ३८५ क्यूसेक पुगेको छ । यस्तै कोशी ब्यारेजका ५६ वटै ढोका खुलेका छन् भने सवारी साधन तथा मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ ।

शनिबार, १२ असोज, २०८१, रातीको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर