फोक्सिङटारस्थित आर्कब्रिज सुनकोशीले बगायो, घुर्मीको पुल पनि जोखिममा

उदयपुर । दशकौं लामो प्रतिक्षापछि बनेको उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदिनको पुल बाढीले बगाएको छ ।

अविरल वर्षापछिको बाढीले गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क पुलको बाढीले बगाएको हो । पुलको आर्क बगाएको जानकारी स्थानीयले दिएको उदयपुर प्रहरीले जनाएको छ । सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल १२ वर्षपछि गत वर्ष मात्र निर्माण सम्पन्न भएको थियो ।

फोक्सिङटार पुलले उदयपुरको फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ जोडेको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लम्बाई भएको पुल गौरी पार्वती वाईपी जेभीले निर्माण गरेको थियो ।

फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजारमा निर्माण भएको हो । पुल निर्माणमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले पटक–पटक आन्दोलन नै गरेका थिए ।

निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीले उदयपुरको घुर्मी बजार र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुलसमेत जोखिममा परेको छ । सुनकोशीको पानी अहिले उक्त पुलको माथिबाट बगिरहेको प्रहरीले जनाएको छ ।

शनिबार, १२ असोज, २०८१, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर