सप्तकोशीमा पानीको बहाब उच्च भएपछि ५६ वटै ढोका खोलियो

विराटनगर । लगातारको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् ।

पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीका अनुसार शनिबार बिहान साढे ८ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । त्यसबेला ५० वटा ढोका मात्र खोलिएको थियो । एक घण्टा नबित्दै कोशीमा पानीको सतह र बहाव बढेको हो ।

पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् । भारतीय पक्षले ७ लाख क्युसेक बहाब पुग्ने अनुमान गर्दै सतर्क रहन सुचित गरेको छ ।

बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरुपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठूलो क्षति निम्त्याउने खतरा हुन्छ ।

बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ । विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ

शनिबार, १२ असोज, २०८१, बिहानको १०:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर