विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरूको ध्यान आकृष्ट गर्ने उनको भनाइ छ । यस्तै पर्यटकीय गन्तव्यहरू पाथिभरा, वराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरूले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको उनले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पनि सुरु गरेको बताएका छन् । नेपालमा सरकारी तवरबाट पहिलो पटक पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘भिजिट नेपाल १९९८’ भव्यताका साथ सफल पारिएको थियो । त्यसैको सिकाइ र अनुभवका आधारमा सरकारले पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेशमा पनि धेरै काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
पर्यटन वर्ष सफल पार्न कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा काम अघि बढाउने मुख्यमन्त्री कार्कीले बताएका छन् । नीति तथा कानूनहरूमा भएका समस्यालाई समयानुकुल सुधार गर्न संघीय सरकार र स्थानीय तहसँग आवश्यक पहल गर्ने उनको भनाइ छ ।
‘रमणीय कोशी’ भन्ने नाराका साथ २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ । पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले जानकारी दिए । ८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको विकासको लागि पर्यटन र कृषिलाई एकसाथ अघि बढाउनुपर्ने बताए । निजी क्षेत्रले भोग्ने समस्यालाई समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै उनले पर्यटन वर्ष सफल बनाउन निजी क्षेत्रले हातेमालो गर्ने प्रतिबद्धता जनाए ।
पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटनको सवारीमा स्टिकर टाँस्ने र स्टिकर टाँसेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने व्यवस्था मिलाएका सरकारले जनाएको छ । प्रदेश सरकारले तयार गरेको स्टिकर शुक्रबार नै कोशी प्रदेश प्रमुख डिआईजी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गरिएको छ ।