विराटनगर । कोशी प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज शुक्रबार पर्यटन वर्ष–२०८२ घोषणा गर्ने भएको छ ।
प्रदेश सरकारले विराटनगरमा एक कार्यक्रम गरी पर्यटन वर्षको घोषणा गर्ने तय भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्नेछन् । सरकारले पर्यटन वर्ष २०८२ मनाउन चालु वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
कोशी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवद्र्धन गर्दै पर्यटक आगमन संख्यालाई बढोत्तरी गर्दै पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरी कोशी प्रदेशलाई समृद्ध वनाउन यो कार्यक्रम गर्न लागिएको प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जसबाट प्रदेशमा पर्यटकको संख्या र बसाई अवधिलाई २५ प्रतिशतले बृद्धि गर्ने लक्ष्य छ ।
पर्यटन वर्षमा पर्यटकीय गन्तव्यहरुको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने उद्देश्य राखिएको छ । ‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरिएको छ ।
पर्यटन तथा वन मन्त्रालयले आउँदो वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउन ८२ का लागि ८२ भन्ने नारा अगाडि सारेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्ष २०८२ मा ८२ वटा पर्यटकीय स्थलहरुको पहिचान गर्ने, विकास गर्ने र प्रवद्र्धन गर्ने काम प्रदेश सरकारले अगाडि बढाउने उनले बताए ।
कार्यक्रमका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल आयोजक समिति र मुख्यमन्त्रीले तोकेको प्रदेश सरकारको एक मन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन हुनेछ । पर्यटन वन तथा वातारण मन्त्रालयका मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन समिति गठन हुनेछ ।
कार्यक्रमको प्रभावकारीताको लागि विभिन्न विषयगत कार्यदल वा उपसमितिहरु गठन हुनेछन् भने दैनिक प्रशासनका लागि सचिवालय स्थापना गरिनेछ । स्थानीय तह र गन्तव्य केन्द्रित अन्य समिति वा उप–समितिगठन गरी कार्य सञ्चालन गर्नसकिने मन्त्रालयले जनाएको छ ।