महानगरमा सेवाकालीन प्रशिक्षण

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विकास व्यवस्थापन तथा व्यावसायिक प्रवद्र्धन सेवाकालीन प्रशिक्षण सम्पन्न भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा एक महिने तालिम बिहीबार सम्पन्न भएको हो ।तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले देशभरका स्थानीय पालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई तालिम दिने गरेको जानकारी दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले एकमहिने तालिमले कर्मचारीहरुमा निखारता आउनुका साथै सकारात्मक सोचको समेत विकास भएको बताए । तालिमले कर्मचारीहरुलाई सेवा प्रवाहमा छिटोछरितो र प्रभावकारी कार्यसम्पादनमा बल पुग्ने उनको भनाइ थियो ।

महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले स्थानीय तहमा काम गर्नेले कर्मचारीमा एउटै मात्रै क्षेत्रको ज्ञान र अनुभव भएर मात्रै नहुनेमा जोड दिए । सरकारी कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहका विषयमा जानकारी हुनुपर्ने उनको भनाइ थियो । एकमहिने तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण उपलब्धि भएको थपलियाको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट रमेश कार्की, हीरा यादव, संजीव भट्टराई, सुनिता पौडेललगायतले आफ्ना अनुभव सुनाएका थिए । स्तरवृद्धिका लागि सेवाकालीन प्रशिक्षण आवश्यक रहेकाले महानगरमा सो तालिम राखिएको हो ।
हरेक दिन बिहान ६ देखि साढे १० बजेसम्म सञ्चालित तालिममा महानगरपालिकाका अधिकृतस्तर छैटौं तहका ४१ जना कर्मचारीहरु सहभागी थिए ।

बिहिबार, १० असोज, २०८१, साँझको ०५:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर