विराटनगर । विराटनगर–१४ मा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रा.लि.ले घिउ, चिउरा, चियापत्ती र मह पुनः जापान पठाएको छ ।
२०७६ साल फागुनमा स्थापना भएको उद्योगले गत जेठ १३ गते पहिलो पटक ३ हजार किलो चिउरा, १२ सय किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह जापान पठाएको थियो । बुधबार पुनः ४ हजार किलो चिउरा, १८ सय किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह जापान पठाएको छ र
उद्योगका सञ्चालक मनोज यादवका अनुसार जापान पठाएको सामान एक हप्तामै खपत भएको र पुनः डिमाण्ड आएपछि दोस्रो पटक पठाइएको हो । अघिल्लो पटकभन्दा यसपटक चिउरा र चियापत्तीको परिमाण बढाएको उद्योगले जनाएको छ ।
जापानबाट प्रतिमहिना ५ हजार किलो घिउको माग आएको यादवले जनाएका छन् । यो डिमाण्डलाई निरन्तर पुरा गर्ने उनले बताए । सो उद्योगसँग जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेडले नेपालको घिउ वार्षिक ५० मेट्रिक टन लिने सम्झौता गरेको छ । उक्त कम्पनीले जापानसहित ६–७ वटा देशमा सामान निर्यात गर्ने जनाइएको छ ।
गत वर्ष कोशीमा दूधको अत्याधिक उत्पादन हुँदा उद्योगमा धूलो दूध अत्यधिक उत्पादन भएको थियो । उद्योगमा अहिले पनि करोडौं मूल्यको दुधजन्य वस्तु स्टकमा छ । पूर्वका विभिन्न ९ वटा डेरी उद्योगहरुमा नौनी र धूलो दूधको स्टक बढ्दा किसानले भुक्तानी पाउन नसकेको गुनासो छ ।
सुर्योदय उद्योगले दैनिक ७० हजार किलो नौनी उत्पादन गर्दछ । उद्योग सञ्चालक यादवका अनुसार आन्तरिक डिमाण्ड बढेको खण्डमा पनि निर्यातले निरन्तरता पाउनेछ । विगतमा डिडिसीले जापानमा घिउ पठाउने गरेकोमा माग अनुसार पठाउन नसक्दा सम्झौता रद्द भएको थियो ।
कोशी प्रदेश सरकारले निर्याततर्फ घिउमा प्रतिकिलो १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिँदै आएको छ । प्रदेश सरकारले अन्य अनुदानका कार्यक्रम कटौती गरेको भएपनि निर्यातमा दिने अनुदानलाई भने निरन्तरता दिएको छ ।