श्रमिक पढ्ने विद्यालय बन्द हुन हुँदैन !

विराटनगर महानगरपालिका वडा नम्बर २ मा अवस्थित श्री महेन्द्र रात्रि माध्यमिक विद्यालय भ्रमण गर्ने मौका मिल्यो । कक्षा ७ देखि १० सम्मका विद्यार्थीसँग अन्तरक्रिया गर्दा अधिकांश विद्यार्थी दिउँसो परिवार पाल्न काम गर्नु पर्ने बाध्यताका कारण औपचारिक शिक्षालाई निरन्तरता दिन बेलुका ५ बजे देखि ९ बजेसम्म पढाइ हुने महेन्द्र रात्रि माध्यमिक विद्यालय आउने बताएका छन् ।

कोही रिक्सा चलाउने, कोही ग्रिल मिस्त्री, कोही बोरा सिलाउने अनि कोही पसलमा काम गरिरहेको बताउने अधिकांश विद्यार्थी परिवारमा कमाउने एक्लो आफू भएको कारण काम गर्नु परेको बताउँछन् ।

यो विद्यालय नभएको भए अध्ययनलाई निरन्तरता दिने आफ्नो सपना अधुरो रहने लागेको छ उनीहरुलाई । विद्यार्थी तथा शिक्षकसँगको अन्तरक्रियामा “महानगरपालिकाले विद्यालय बन्द गर्ने हल्ला” का कारण प्रायः विद्यार्थी त्रसित भएको पाएँ ।

२०१९ सालमा स्थापित यो विद्यालय श्रमिक तथा मजदुरी गर्ने विद्यार्थीलाई लक्षित गरेर खोलिएको थियो । कोरोना कालपछि थलिएको यो विद्यालयमा हाल विद्यार्थी अभाव भएपछि कहिले महानगरले बन्द गर्ने पत्र पठाउला भनेर शिक्षक तथा विद्यार्थी चिन्तित रहेको पाइयो ।

विराटनगर महानगरपालिका र नेपाल सरकारलाई विशेष अनुरोधः यस्ता विद्यालय बन्द गर्ने भन्दा पनि देशभरि आवासीय सुविधा सहितका रात्रिकालीन विद्यालय खुल्नु पर्दछ । लाखौँको संख्यामा अहिले पनि धेरै युवाले काम गर्नु पर्ने बाध्यताका कारण बीचमा पढाइ छोडेका छन् । ती विद्यार्थीको सिकाइ निरन्तरताका लागि पनि यस्ता विद्यालय बन्द गर्ने भन्दा अझ व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्ने नीति तर्जुमा गरिनु पर्दछ ।

बुधबार, ०९ असोज, २०८१, बिहानको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर