विराटनगर । मोरङको कटहरी गाउँपालिकाले बेरोजगार युवाहरुलाई सिपमूलक तालिम दिएर स्वरोजगार बनाउने भएको छ ।
कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवाहरुलाई लक्षित गरेर सीपमूलक तालिम संचालन गरी स्वरोजार बनाउने अभियानको सुरुवात गर्ने तयारी गरिरहेको जनाएको हो ।
सरोकारवाला निकायसँगको समन्वयमा संचालन गरिने तालिमको विषयमा गाउँपालिकाले सुझावसमेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने तालिमका बिषयमा अन्तरक्रिया कार्यक्रमगरी सुझाव संकलन गरिएको हो ।
गाउँपालिकाले तालिम प्रदायक संस्था, रोजगारदाता, विभिन्न विद्यालयका प्रधानाध्यापक र कार्यपालिकाका पदाधिकारीलाई सहभागी गराएर सुझाव संकलन गरेको हो । अन्तरक्रियाका सहभागीले स्थानीय श्रम बजारको माग अनुसार बेरोजगार युवाहरुलाई तालिम दिन सुझाव दिएको कटहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेलले बताए ।
सहभागीले युवाहरुलाई प्रोफेस्नल हाउस वायरिङ, प्लम्बर, कुक र टेलिकम लाइन म्यानलगायतका विषयमा तालिम संचालन गर्न सुझाव दिएको उनले बताए । अन्तरक्रियाबाट संकलित सुझाव कार्यपालिका बैठकमा राखेर बिषय छनौट सम्बन्धी निर्णय लिएर तालिम संचालन गरिने कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले बताए ।
बेरोजगार युवाहरुकालागि कार्यगत अभ्यास सहितको १० महिने तालिम संचालन गरिने साहले बताए । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कटहरीले बेरोजगार युवाहरुलाई स्वरोजगार तथा रोजगार बनाउन विभिन्न प्रकारका तालिम र कक्षाहरु संचालन गर्दै आएको बताए । उनले यसअघि देखिपनि ४० जना युवाहरुलाई सहभागी गराएर कम्प्युटर सम्बन्धी लेभल टू को कक्षासमेत संचालनमा रहेको जानकारी दिए । गाउँपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना र एक्सपर्ट टेक्निकल कलेजसहित हेल्भाटास नेपालकोे प्राविधिक सहयोगमा तालिम संचालन गरिने जनाइएको छ ।