दमक । झापाको कमल गाउँपालिकाका अपांगता भएका, दलित र विपन्न परिवारका तीन विद्यार्थीसहित देशभरीका ५० विद्यार्थीलाई नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले शैक्षिक सहायता प्रदान गरेको छ ।
नेकपा माओवादी केन्द्रसम्बद्ध संगठनले विद्यार्थीहरुलाई जनही २० हजार रुपैयाँ बराबरको शैक्षिक सहायता प्रदान गरेको हो ।
कमल गाउँपलिका ५ सिमलेकी वविता राई, कमल १ बाँसबारीकी दीपा विक, र कमल १ बाँसबारीकै अनुध धिमाललाई सो रकम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले हस्तान्तरण गरेका छन् । इलाम ४ चुलाचुलीस्थित श्री किरात चोलुङ आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने राई अपाङ्गता भएकी विद्यार्थी हुन् ।
यस्तै बाँसबारी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा दीपा विक विपन्न दलित परिवारकी विद्यार्थी हुन् भने सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत अनुध सीमान्तकृत समुदायका विद्यार्थीहरु हुन् । कक्षामा प्रथम रहेका उनीहरुलाई सहयोग प्रदान गरिएको तामाङले बताए । धिमालका बुबाको केही समय अगाडि हृदयघातका कारण निधन भएको थियो भने आमा अपाङ्गता भएकी छन् ।
सामाजिक दायित्व निर्वाह गर्दै नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले विपन्न परिवारको विद्यार्थीहरूको लागि शैक्षिक सहयोग संकलन गरेको थियो । विदेशमा बसेर पनि नेपालमा विपन्न परिवारका जेहनदार विद्यार्थीहरूलाई राहत उपलब्ध गराउने अस्ट्रेलिया जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष दीपक पाण्डे र राहत कार्यक्रमका संयोजन गर्ने खिम भण्डारीलाई धन्यवाद दिएको तामाङले बताए ।
Good Job !