विराटनगर । झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौं रकम सञ्चालक समितिका पदाधिकारीहरुले आफ्नै कम्पनीमा लगेको पाइएको छ ।
झापाकै ठूलो सहकारीको रुपमा परिचित पूर्वनेपालका पदाधिकारीहरु र व्यवस्थापकहरुले आफ्ना कम्पनीमा गरेको १८ करोडभन्दा बढी कर्जा उठ्न सकेको छैन ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले गरेको अनुगमन प्रतिवेदन अनुसार सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरु मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीमा १८ करोडभन्दा बढी ऋण प्रवाह गरेको पाइएको छ । सहकारीले कुनै पनि कम्पनीमा ऋण प्रवाह गर्न नपाउने कानूनी व्यवस्था छ ।
‘सहकारी संस्थाका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरु मिलेर खोलेको कटेरो नेपाल प्रा.लि. नामको कम्पनीका सञ्चालकलाई एकै समय ठूलो ऋण प्रवाह गरेको पाइयो जुन ऋण उच्च जोखिममा रहेको छ,’ अनुगमनमा खटिएका एक अधिकृतले भने । कम्पनीका सञ्चालकहरु लेखनाथ रिजालले १ करोड ७५ लाख, कूलराज निरौलाले १ करोड, सन्तोष घिमिरेले ३ करोड १६ लाख ८० हजार, उनकी श्रीमती प्रेरणा घिमिरेले ३ करोड, देवराज भण्डारीले ३ करोड १४ लाख ३१ हजार, तुलसादेबी राउत निरौला र सञ्जय कार्कीले ३–३ करोड रुपैयाँ लिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका पूर्वव्यवस्थापक चन्द्रकला ढकालको नाममा समेत १ करोड १८ लाख ७६ हजार ७०६ रुपैयाँ कर्जा लगेको पाइएको छ । सबै कर्जाको भाका नाघेको भएपनि फिर्ता भएको छैन । सहकारीले लेखापरीक्षकले दिएका सुझावको पालना नगरी ऋण प्रवाह गरेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘पर्याप्त धितो जमानत राखेर सुरक्षित रुपमा ऋण लगानी गर्नुपर्नेमा विगतमा जमानतको मूल्याङ्कन भन्दा बढी ऋण लगानी गरेको देखियो,’ प्रतिवेदनमा उल्लेख छ, ‘ऋण लगानी गर्दा कूल पूँजीकोषको १० प्रतिशतभन्दा बढी एक व्यक्तिलाई ऋण लगानी गर्न नहुनेमा बढी लगानी गरेको देखियो ।’
ऋणीले घरजग्गा धितो राख्दा पनि अर्काको स्वामित्वमा भएको जग्गा धितो राखेको पाइएको छ । यस्तो ऋण लिनका लागि लेखनाथ रिजाल जमानत बसेर साहारा प्रधान र जिवन कुमारी रिजाललाई कर्जा प्रवाह भएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनमा ठूलो ऋण लगानी गर्दा अगाडी लिएको ऋणले लामो समयदेखि भाखा नाघेको अवस्था देखिदेखि थप ऋण लगानी गरेको, यसरी लगानी भएको ऋण नियमित तरिकावाट असुली हुन नसकेको, समितिले असुलीका लागि कानूनी प्रक्रिया अगाडि बढाउन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘संस्थाका पदाधिकारी तथा ऋणीहरुको मिलेमतोमा अनियमित तरिकाबाट लगानी गरेको हुनसक्ने सम्भावना देखियो,’ प्रतिवेदनमा औंल्याइएको छ ।
यस्तै २०७७ पुस १४ गते बसेको सञ्चालक समितिको एउटै बैठकबाट २५ करोडभन्दा बढी रकम ऋण लगानी गर्ने निर्णय भएको थियो । जसमा तत्कालिन व्यवस्थापक चन्द्रकला ढकालको नाम उपस्थिति रजिष्टरमा भएपनि दस्तखत नहुँदा कर्जा प्रवाह शंकास्पद रहेको प्रतिवेदनले औंल्याएको छ ।
अनुगमन टोलीले तत्कालिन ऋण लगानीमा संलग्न ऋण उपसमिति, सञ्चालक पदाधिकारी, व्यवस्थापक, कर्मचारीहरु तथा ऋण लिने ऋणीहरुमाथि विज्ञबाट सुक्ष्म रूपले छानबीन गरी ऋण उपयोगिताको बारेमा अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । सहकारी संस्थाले लगानी गरेको ऋणमध्ये ठूलो रकम लामो समयदेखि भाखा नाघेको देखिएको र ऋण जोखिम कोषमा २१ करोड ५० लाख ७९ हजार ३७५ जम्मा गरी भाखा नाघेको ऋण सुरक्षित गर्नुपर्नेमा ४ करोड ५९ लाख ३ हजार ८९३ मात्र जोखिम कोषको व्यवस्था गरेको पाइएको प्रतिवेदनले उल्लेख गरेको छ ।
सहकारी कानुनविपरीत संस्थाको सञ्चालक समितिले ऋण लगानी गर्न ऋण उपसमितिलाई अधिकार प्रत्यायोजन गरेको पाइएको छ । संस्थाले पिइएआरएलएस (पल्र्स) अनुगमन प्रणाली अनुसार कुनै पनि सूचक अनुसारका मामदण्ड पालना नगरेको, संस्थाले संकलन गरेको बचत निक्षेपका विभिन्न प्रकार र ऋण लगानी गरेका विभिन्न उद्देश्यको बीचको व्याजदरको फरक ३ प्रतिशतभित्र रहनुपर्नेमा सोभन्दा बढी देखिएको, संस्थाले २० वर्षे सदस्य सुरक्षण बचत खाता सञ्चलन गरेको र सो अवधि पुरा नभई सदस्यता समाप्त भएमा उक्त खाताको रकम संस्थामा आम्दानी बाँध्ने व्यवस्था गलत देखिएको पनि प्रतिवेदनमा भनिएको छ ।
संस्थाका पदाधिकारी, व्यवस्थापक वा कर्मचारीले लिएको ऋणको विवरण समेत नियामक निकायमा पेश नगरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि २०७९ भदौमा संस्थाका लेखासमिति संयोजक केदारनाथ ढुंगेलको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक अनुगमन सुपरीवेक्षण उपसमितिले गरेको एक अध्ययनले पनि सहकारी संकटमा जानसक्ने देखाएको थियो । उपसमितिले सम्पत्तिको ७०–८० प्रतिशत मात्र ऋण लगानी गर्नुपर्ने ९२.१४ प्रतिशत ऋण दिएको ठहर गरेको थियो ।
सहकारीका ११ पदाधिकारीमध्ये सातजनाले उपसमितिको सिफारिसविनै कर्जा लिएकोे प्रतिवेदनमा उल्लेख छ । यसरी कर्जा लिने संस्थाका सञ्चालक र पदाधिकारीमा दीपेन्द्र अधिकारी, देवराज भण्डारी, सुमन दाहाल, प्रकाशप्रसाद अधिकारी, राधिका अधिकारी, बद्री निरौला र अप्सरा भट्टराई छन् । उनीहरूले संस्थाबाट १६ करोड बढी कर्जा लिएको त्यसबेला देखिएको थियो ।
सहकारीको शेयर पूँजी १५ करोड ९६ लाख ६० हजार रहेको छ भने जगेडाकोष ९ करोड ५२ लाख ९३ हजार ६६७ रुपैयाँ छ । यस्तै, बचत दायित्व ७३ करोड ९८ लाख ७४ हजार ३८, सञ्चित घाटा ६ करोड ६२ लाख ९० हजार ४४५, ऋण लगानी १ अर्ब ६९ करोड १२ लाख २६ हजार ६४५ रुपैयाँ, भाखा नाघेको ऋण १८ करोड ३३ लाख २ हजार १५६ रुपैयाँ र तिर्नुपर्ने जम्मा ऋण दायित्व ८४ करोड ८६ लाख ३० हजार ५२४ छ । सहकारीको जम्मा सम्पत्ती ३ अर्ब २५ करोड ४० लाख ३४७ रुपैयाँ बराबरको र जम्मा दायित्व १ अर्ब ४३ करोड ५ लाख ४२ हजार ३३२ रुपैयाँ रहेको छ ।