संगठन विस्तारमा जुट्यो जसपा, पाँच लाखसदस्य बनाउने अभियान चलाउँदै

विराटनगर । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले देशभर नै संगठन विस्तार अभियानलाई तीब्र बनाएको छ । जनतासँग जसपा नेपाल अधारभूत संगठन निर्माण अभियान सातै प्रदेशमा संचालन गरेर ५ लाख संगठित सदस्य बनाउने अभियान तीब्र बनाएको हो ।

सातै प्रदेशमा अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गरेर पालिकास्तरमा केन्द्रीय नेतासहित सबै तहका नेताहरुलाई जिम्मेवारी दिएर खटाएको छ । जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादवका अनुसार मंसिर मसान्तसम्म चल्ने सो अभियानले संगठन बलियो बन्ने छ । यादवले भने –‘मधेश प्रदेशमा दुई पटक भयो, अन्यमा पनि गर्ने तयारीमा पार्टी लागेको छ ।’ पार्टीले संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको प्रदेश स्तरमा शुभारम्भ गरेर पालिकास्तरमा केन्द्रीय नेतासहित हरेक कमिटीका पदाधिकारीहरुले खटाएको उनले बताए । प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेशसभा सदस्य र प्रदेश परिषद् सदस्यलाइ कार्यक्रममा अनिवार्य उपस्थित गराएर अभियानको शुभारम्भ गर्दै पार्टीले अघि बढ्ने गरेको नीति बनाएको यादवले जानकारी दिए । प्रदेश अन्तर्गतका भ्रातृ तथा पेशागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष र जिल्लाका भ्रातृ तथा पेशागत संगठनका पदाधिकारीलाई पनि कार्यक्रममा अनिवार्य उपस्थित गराएर संगठनलाई बलियो बनाउने गरी केन्द्रीय अध्यक्षले उपेन्द्र यादवको निर्देशन रहेबमोजिम पालिका स्तरमा संगगठन शुद्धीकरण गर्दे संगठित सदस्य बनाउने काम भइरहेको उनले बताए । अहिले करिव एक लाख ७५ हजारको हराहरीमा संगठित सदस्य रहेकोमा अभियान अन्तर्गत ५ लाख पु¥याउने लक्ष्य रहेको उनको भनाइ रहेको थियो ।

जसपाले ३ महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा संगठन गठन, पुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तीब्रता दिइरहेको छ ।पालिका स्तरमा जिम्मेवारी दिएका नेता तथा अगुवा कार्यकर्ताहरुलाई जसपाले वडास्तरमा रहेका पुराना नेता तथा कार्यकर्ताहरुलाई समेत संगठनमा समेट्न गरी योजना ल्याउन निर्देशन दिएको बताइएको छ ।अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ लाई लक्षित गरी संगठन निर्माणमा होमिन निर्देशन दिएको बताइएको छ । आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्ने गरी ग्रास रुटका जनतामाझ गएर पार्टीको संगठन विस्तार गर्न अध्यक्ष यादवले नेता कार्यकर्तामाझ आह्वान गरेका छन् । भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गरेको जसपाले जनाएको छ

सोमबार, ०७ असोज, २०८१, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर