विराटनगर । भारतबाट तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
तस्करसँग मिलेर भारतदेखि अवैध रुपमा भन्सार लागि गरीको लत्ता कपडाको स्थानीय गार्मेट उद्योगबाट खरिद गरेर ल्याएको भन्दै विराटनगरको कृष्ण ट्रेडर्स र ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएने गरेको पाइएको छ । उनीहरुले तस्करीको कपडालाई वैध बनाउन बिल काटेबापत निश्चित रकम पाउने गरेका छन् । बिल बेचेबापत ५ सयदेखि १ हजार रूपैयाँसम्म लिने गरेको पाइएको राजस्वले जनाएको छ ।
तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो जेबी ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद गरेको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।
काठमाडौं पठाउन ठिक्क पारिएको कुर्ता सलवारलगायतका कपडा बरामद गरिएको उनले बताए । बरामद गरिएका कपडा भारतबाट भन्सार छलेर तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद गरिएकामध्ये २३ बोरा कपडाको कृष्ण ट्रेडर्स र ४ बोराको ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएको पाइएको लुइँटेल बताए । ‘व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको पाइयो,’ उनले भने, ‘कृष्ण र ग्लोबल ट्रेडर्सले भ्याट बिल मात्रै काटिदिँदा रहेछन् ।’
दुवै फार्मले कपडाको कारोबार, खरिद, बिक्री भने नगर्ने गरेको पाइएको छ । ‘भ्याट बिल र भिसिटिएसको बिल बनाउँदा रहेछन् । तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइयो,’ उनले भने, ‘दुवै फार्म कपडाको कारोबारमा कतै जोडिदैनन् । बिल चैं बेच्ने गरेको खुलेको छ ।’
राजस्वका अनुसार दुवै फार्मबाट भ्याट र भिसिटिएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाडौं पठाउन लागिएको थियो । कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा छ । राजस्वको टोलीले कृष्णका संचालक सुव्रत देलाई पक्राउ गरेको छ । देसँग मिलेर कपडा तस्करी गर्ने ओमप्रकाश साह र मनिष चौधरीलाई पनि राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो ।
देलाई थुनामा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउँदै लुइँटेलले साह र चौधरीलाई सोधपुछ गरेर खोजेका बेला उपस्थित हुने गरी छाडिएको जानकारी दिए । उनका अनुसार तस्करीमा संलग्न भनिएका गणेश साह र शंकर साह फरार छन् ।
ग्लोबल ट्रेडर्सका सञ्चालक मञ्जर आलम पनि फरार छन् । राजस्वको टोलीले जेबी ट्रान्सपोर्टमा छापा हानेर कृष्ण ट्रेडर्सका संचालकलाई पक्राउ गरेको थाहा पाएपछि मोबाइल अफ गरेर भागेको अधिकृत लुइँटेलको भनाइ छ । उनका अनुसार फरार भएकाको खोजी भइरहेको छ ।बरामद गरिएको कपडा अन्दाजी लाखौं मूल्य बराबरको रहेको रहेको बताइएको छ । ‘कपडाका पोका खोल्न बाँकी छ । खोलेर मूल्यांकन गरेपछि वास्तविक मूल्य थाहा हुन्छ । थप अनुसन्धान भइरहेको छ,’ लुइँटेलले भने ।
उनका अनुसार कपडाको तस्करी गरिरहेका राजकुमार रौनियारको गोदाममा पनि यसअघि छापा हानिएको थियो । विराटनगर भन्सार कार्यालयका एजेन्टसमेत रहेका रौनियारको कपडासहितको ट्याक्टर राजस्वले नियन्त्रणमा लिइएको थियो । रौनियार नामुद कपडा तस्कर रहेको राजस्वले जनाएको छ ।